नेपालको ऊर्जा क्षेत्रमा थप लगानी बढाउने दातृ निकायका प्रतिनिधिहरूकाे प्रतिबद्धता

आर्थिक परिवेश

१८ फागुन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारलाई आग्रह गरेको छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एडिबीको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ बुटवलमा  निर्माण गरिएको सबस्टेसनको अनुगमन भ्रमणमा त्पहाँ पुगेको टोलीलाई प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन आग्रह गरेको हो ।

नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, युरोपेली सङ्घ, विश्व बैङ्क र एसियाली विकास बैङ्कलाई नेपालको विद्युत् उत्पादन, प्रसारण, वितरण, विस्तार र सुधारका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले प्राधिकरणले सहायता बढाउन आग्रह गरेको हाे ।

नेपालको ऊर्जा क्षेत्रमा हासिल भएका उपलब्धिको प्रशंसा गर्दै टोलीले थप लगानी बढाउने प्रतिबद्धता जनाएको थियो ।

अनुगमन गर्ने क्रममा  त्यहाँ पुगेकाे टाेलीसंग नेपाल  विदयुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् उत्पादन, प्रसारण, वितरणको अवस्था र भारत तथा बङ्गलादेशसँगको विद्युत् निर्यातका विषयमा जानकारी दिँदै आगामी पाँच/छ वर्षमा करिब १३ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी आवश्यक रहेको बताउनुभयो ।

विश्व बैंकका नेपाल, माल्दिभ्स तथा श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्भोसले बैङ्कको नेतृत्वमा एक हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी गर्ने विषय अन्तिम चरणमा पुगेको बताउनुभयो ।

उहाँले आयोजना कार्यान्वयनका क्रममा वातावरणीय तथा सामाजिक सुरक्षणका व्यवस्था कार्यान्वयनमा विशेष ध्यान दिइनुपर्नेमा जोड दिनुभयो ।

एडिबीका नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुस्वाले नेपालको ऊर्जा क्षेत्रमा विगत ५० वर्षदेखि साझेदारी गरिरहेको उल्लेख गर्दै बैङ्कको नेतृत्वमा छ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना सन् २०२४ भित्रमा वित्तीय व्यवस्थापन गर्ने गरी काम भइरहेको बताउनुभयो ।

सो अनुगमन भ्रमण टोलीले सबस्टेसनको नियन्त्रण कक्षलगायतको जानकारी लिएको थियो । टोलीले विद्युत् प्रसारण र वितरणको अवस्थाका बारेमा पनि जानकारी लिएको थियो ।

कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन र तीन वटा सबस्टेसनहरुको निर्माण गरिएको हो ।

कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को नयाँ बुटवल सबस्टेसनसम्मको करिब एक सय ३० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको छ ।

प्रसारण लाइन करिब दुई हजार मेगावाट विद्युत् भार बोक्ने क्षमताको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एडिबीको एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना निर्माण गरिएको हो ।

भारतसँगको विद्युत् व्यापारका लागि नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन पनि  निर्माण गर्न गरिँदै छ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् सोही प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिने छ ।

मा प्रकाशित