२६ फागुन,काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताउनुभएको छ ।
नेपाल तयारी पोशाक उद्योग सङ्घको २९औँ वार्षिक साधारणसभामा उहाँले निजी क्षेत्रका सबै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सरकार र निजी क्षेत्रका बीच सहकार्य बिना मुलुकले फड्को मार्न नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री महासेठले मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक भएको बताउनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनले बजार नपाउनाको कारण खोजेर समाधान गर्नुपर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तयारी पोशाक उद्योग मुलुकको अर्थन्त्रको मेरुदण्डका रूपमा रहेकाले यो क्षेत्रको विकासमा ध्यान दिन अनुरोध गर्नुभयो ।
नेपाल तयारी पोशाक सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले तयारी पोशाक उद्योगलाई प्रवद्र्धन गर्न नीतिगत सुधार, प्रक्रियागत सरलीकरण तथा व्यावसायिक वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपालको तयारी पोशाक उद्योग क्षेत्रमा ४० हजार रोजगारी सृजना भएको सङ्घले जनाएको छ ।
गत आवमा भारत तथा तेस्रो मुलुकमा करिब नौ अर्ब बराबरको तयारी पोशाक निर्यात भएको सङ्घले जनाएको छ ।
मा प्रकाशित