लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई अर्थमन्त्रीकाे आग्रह

आर्थिक परिवेश

२७ फागुन, काठमाडौ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग आज अर्थ मन्त्रालयमा भेटवार्ता गर्नुहुँदै अर्थमन्त्री पुनले अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गर्नुभएको हो ।

नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले लगानीकर्ताका लागि आवश्यक कानुनी तथा व्यावहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताउनुभयो ।

“अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल ‘भर्जिनल्याण्ड’ हो”, पुनले भन्नुभयो, “तपाईंमार्फत लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताको सहभागिता बढीभन्दा बढी होओस् भन्ने आग्रह गर्न चाहन्छु ।”

पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा सूचना प्रविधि क्षेत्रमा राम्रो सम्भावनाको क्षेत्र भएको बताउनुभयो । लगानी सम्मेलन पूर्वनिर्धारित समयमै हुने बताउँदै सरकार त्यसले त्यसको तयारीका लागि तीव्रता दिइरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

राजदूत थम्प्सनले लगानी सम्मेलनमा ठूलो सङ्ख्यामा अमेरिकी लगानीकर्ता आउन इच्छुक रहेको जानकारी दिनुभयो ।

उहाँले अमेरिकी लगानीकर्ता नेपालमा आउन आकर्षित रहेको भन्दै त्यसका लागि वातावरण बनाउन नेपालस्थित अमेरिकी दूतावासले सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यसअवसरमा राजदूत थम्पसनले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक चाँडै टुङ्गो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

“सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक चाँडै टुङ्गिने र शान्ति प्रक्रियाका बाँकी काम सकिनेमा अमेरिका आशावादी छ”, राजदूत थम्प्सनले भन्नुभयो, “त्यसमा सहयोग गर्न अमेरिकी सरकार तयार छ ।”

थम्प्सनले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन आवश्यक आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको र विश्वका अरू धेरै देश पनि सहयोगका लागि तत्पर रहेको पाएको उल्लेख गर्नुभयो ।

भेटमा उहाँले अमेरिकाले गर्दै आएको विकास सहयोग जारी रहने प्रतिबद्धता जनाउनुभयो ।

मा प्रकाशित