हजारौँ नयाँ स्टार्टअप र उद्यमशीलता सुरु गरिने छ : प्रधानमन्त्री दाहाल

आर्थिक परिवेश

०३ चैत्र, पोखरा ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई प्रोत्साहन गरिने बताउनुभएको छ ।

बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई पुरस्कार प्रदान गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले हजारौँ नयाँ स्टार्टअप र उद्यमशीलता सुरु गरिने बताउनु भएकाे हाे ।

“आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सुस्त कर्जा प्रवाह, मध्यम वर्गीय उपभोगमा आएको गिरावट र पुँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ ।”

वर्तमान सरकारले देशको हितमा सही कार्य गर्नेछ भन्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने सरकारको लक्ष्य भएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिकमैत्री बनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, राज्यका सबै संरचनामा सदाचार र जबाफदेहिता कायम गरिने विश्वास दिलाउनुभयो ।

अघिल्लो वर्ष ऊर्जा र उत्साहका साथ आफूले कामको थालनी गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ती थालेका काम पूरा गर्न र गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण सिर्जना भएको बताउनुभयो ।

“गत वर्ष महत्त्वपूर्ण उपलब्धिहरू प्राप्त भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “तर, मेरो सङ्कल्प र हुटहुटीअनुसार ती पर्याप्त छैनन् भन्ने बुझेर नै नयाँ गठबन्धनको निर्णयमा पुगेको छु ।

सरकार पुनर्गठनको प्रारम्भिक चरणमै केही महत्वपूर्ण कामहरू भएका छन्, यसले सरकारको उज्यालो भविष्यलाई नै सङ्केत गर्दछ ।”

मा प्रकाशित