कृषि उत्पादनलाई बजार र उद्यमसँग जोड्न बजेट निर्माणकाे क्रममा ध्यान दिन मन्त्री पुनकाे निर्देशन

आर्थिक परिवेश

१७चैत्र, काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमा गर्नेबारे निर्देशन दिनुभएको छ ।

अर्थ सचिव कृष्णहरि पुष्कर, राजश्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरू, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र उप-महानिर्देशकहरुलाई अर्थमन्त्री पुनले बजेटको प्राथमिकताबारे सामूहिक निर्देशन दिनुभएको हो ।

मन्त्री पुनले आम जनता र सबै सरोकारवालाले स्वामित्व लिनसक्ने खालका कार्यक्रम बजेटमा समेट्न निर्देशन दिनुभयो । उहाँले उत्पादन वृद्धिमार्फत रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गरी वैदेशिक व्यापार घाटा कम गर्नेमा आफ्नो जोड रहने बताउनुभयो ।

मन्त्री पुनले सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबिच तालमेल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कृषिजन्य उपज र बजारबिच लिंकेज हुने कार्यक्रम बजेटमा राखिने जनाउनुभयो ।

बजारको स्थायित्वका लागि उत्पादनको आकारमा वृद्धि जरुरी रहेको उहाँको भनाइ छ । कृषि उत्पादनलाई बजार र उद्यमसँग जोड्ने कार्यक्रममा ध्यान दिन मन्त्री पुनले निर्देशन दिनुभयो ।

फरक प्रसङ्गमा पुनले यो वर्षको बजेट निजी क्षेत्र र लगानीमैत्री हुने बताउनुभयो । निजी क्षेत्रलाई प्रोत्साहित हुने खालको बजेटले मात्र आर्थिक क्रियाकलाप विस्तार हुने उहाँको भनाई थियो ।

मन्त्री पुनले अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा शुक्रबार सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहेको बजेट लेखन समिति गठन गर्नुभएको थियो ।

१२ वर्षअघि बाबुराम भट्टराई नेतृत्वको सरकारमा पहिलो पटक अर्थमन्त्री हुँदा पुनले विपक्षीको अवरोधका कारण बजेट ल्याउन पाउनुभएको थिएन ।

मा प्रकाशित