पोखरा र गौतमबुद्ध विमानस्थलबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको छ : प्रधानमन्त्री

आर्थिक परिवेश

२२ चैत्र काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहिवारकाे  बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारत सरकारसँग हवाई मार्गका  लागि कुरा भइरहेको तथा चीन र श्रीलङ्कासँग सिधा उडानका लागि संवाद भइरहेको उल्लेख  गर्नुभयो ।

प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि चीन सरकारबाट प्राप्त ऋणलाई अनुदानमा परिणत गर्न पनि पनि आफूले कोसिस गरिरहेको जानकारी गराउनुभयो ।

उहाँले हेटौँडा, बुटवल, जनकपुर, विराटनगरका रुग्ण उद्योगहरू पुनः सञ्चालनमा ल्याइ कपडा, चिनी, धागो, जुटआदि उत्पादन गराउन छलफल भइरहेको जानकारी गराउँदै कोशी नदीमा तटबन्ध बनाउन र कोशी टप्पुको जग्गा संरक्षणका लागि काम भइरहेको स्पष्ट गर्नुभयो ।

नदी र नदी जोड्ने खालका परियोजना अघि बढाइ सिँचाइ सुविधामार्फत उत्पादन बढाउने र भूमि सुधारलाई लालपूर्जा वितरणको कामका रुपमा नलिई जमिनको चक्लाबन्दी गर्ने र उत्पादनसँग जोडेर समाजवादको आधार निर्माण गरिने प्रतिबद्धता समेत प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले सशस्त्र जनयुद्धका सहिद, घाइते र बेपत्ता परिवारका लागि न्याय तथा राहत दिन सरकार गम्भीर रहेको बताउँदै सत्य तथा मेलमिलाप आयोग विधेयक चाँडै संसदीय समितिबाट पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

समितिका सभापति मायाप्रसाद शर्माले संसदमा उठेका प्रश्नको सम्बोधन र आफ्ना प्रतिबद्धतालाई कार्यान्वयनमा सङ्कल्प लिनुभएकामा प्रधानमन्त्री दाहाललाई धन्यवाद दिनुभयो ।

मा प्रकाशित