८ महिनामा विदेशी मुद्राकाे सञ्चिति २१ दशमलव ७ प्रतिशतले वृद्धि

आर्थिक परिवेश

२२ चैत्र, काठमाडौं। गत फागुन मसान्तसम्म मुलुकभित्र विदेशी मुद्राको कुल सञ्चिति   १८ खर्ब ७२ अर्ब ८२ करोड रूपैया बराबरकाे भएकाे छ  ।

नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा  १५ खर्ब ३९ अर्ब ३६ करोड रूपैया बराबर  कूल विदेशी विनिमय सञ्चिति रहेको थियो ।

गत फागुन मसान्तमा आइपुग्दा उक्त सञ्चिति २१ दशमलव सात प्रतिशतले वृद्धि भएको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा  ११ अर्ब ७१ करोड डलर रहेकोमा गत फागुन मसान्तमा २० दशमलव आठ प्रतिशतले वृद्धि भई  १४ अर्ब १४ करोड डलर पुगेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति गत असार मसान्तमा  १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा गत फागुन मसान्तमा २२ दशमलव दुई प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ६ करोड पुगेको छ ।

बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत फागुन मसान्तमा १८ दशमलव दुई प्रतिशतले वृद्धि भई रु दुई खर्ब २८ अर्ब ७६ करोड कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार, गत फागुन मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव एक  प्रतिशत रहेको छ ।

चालु आवको आठ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४ दशमलव आठ महिनाको वस्तु आयात र १२ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैङ्कले जनाएकाे  छ ।

मा प्रकाशित