राष्ट्रिय हेमजा आलु महोत्सव सुरु, करिब १५ करोडको आलु बिक्री गर्ने लक्ष्य

आर्थिक परिवेश

२५ चैत्र, हेम्जा, पाेखरा । पोखरामा आइतबारदेखि १२ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ ।

“सुन्दर ठाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक” भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो ।

उक्त अवसरमा बिष्णुपादुका क्लबको बहुउद्देश्यीय सामुदायिक भवन पनि शिलान्यास गरिएको छ ।

महोत्सव शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय सरकार किसानको हकहितको पक्षमा रहेको बताउनुभयो । उहाँले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिँदै महोत्सवले किसानलाई हौसला बढाउने कार्य गरेको दाबी गर्नुभयो ।

प्रमुख आचार्यले महोत्सवले कृषिका धेरै क्षेत्र समेटेको उल्लेख गर्दै हेमजाको सिँचाइ व्यवस्थापनका लागि महानगरले संघ सरकारको समपूरक योजनामा चौरासी नहर पुनर्निर्माणलाई जोडेर पठाएको उल्लेख गर्नुभयो ।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको

निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबिच अन्तरक्रिया, विभिन्न कृषिउपज, बिउ बिजन तथा अन्य कृषियन्त्रको

प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्यव्यङ्ग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहेका छन् ।

महोत्सवमा प्रतिकिलो ४० रुपैयाँमा आलुको कारोबार भइरहेको छ भने करिब ८० टन आलु बिक्री वितरण हुने आयोजकको अपेक्षा छ ।

महोत्सवमा प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्था गरिएको छ ।

हेमजामा करिब ५ सय हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएकोमा करिब १५ करोडको आलु बिक्री वितरण हुने गरेको महानगरपालिका कृषि महाशाखाले जनाएको छ ।

महोत्सव यही वैशाख ५ गतेसम्म चल्नेछ ।

मा प्रकाशित