नेपाल  टेलिकमको फाइवर टु द होम एफटिटिएच सेवा ७५ जिल्लामा पुग्याे  

आर्थिक परिवेश

०२ बैशाख, काठमाडौं I  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभरिका सबै स्थानीय तहमा उच्च गुणस्तरका दूरसञ्चार सेवा विस्तार गरिने बताउनुभएको छ ।

सिंहदरबार स्थित मन्त्रालयबाट आज भर्चुअल रुपमा डोल्पा जिल्लामा नेपाल टेलिकमको फाइवर टु द होम एफटिटिएच नेटवर्कको उद्घाटन गर्दै मन्त्री शर्माले जिल्लाका सबै पालिकामा उच्च गुणस्तरको दूरसञ्चार सेवा उपलब्ध गराई क्रमशः वडा स्तरमा विस्तार गरिने बताउनुभयो ।

मन्त्री शर्माले निजी क्षेत्र जान नसक्ने जिल्लाहरूमा सरकारले सेवा दिनुपर्ने दायित्व भएकाले नाफा घाटा नहेरी जनताको सेवामा नेपाल टेलिकम लागि पर्नुपर्ने र सबै क्षेत्रले दायित्वबोधका साथ काम गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले भौगोलिक रुपमा दुर्गम जिल्लाहरूलाई दूरसञ्चारको उच्च गुणस्तरले सुगम बनाउनुपर्ने बताउनुभयो ।

सचिव सुवेदीले डोल्पा जिल्लामा दूरसञ्चार सेवाको अभावमा जनताले सास्ती भोग्दै आएकाले तत्काल चुनौतीको समाधान गर्न सम्बन्धित क्षेत्रले काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल टेलिकमले डोल्पा जिल्लाको सदरमुकाम दुनाईबाट फाइबर टु द होम एफ टिटिएच सेवाको सुरुवात गरेको हो ।

डोल्पा जिल्लासँगै नेपाल  टेलिकमको सेवा ७५ औँ जिल्लामा पुगेको छ ।

मा प्रकाशित