१ हजार ६३ मेगावाटकाे माथिल्लो अरुण जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनकाे सैद्धान्तिक सहमति

आर्थिक परिवेश

०७ बैशाख, काठमाडौं।   सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुटेको छ ।

विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त बैठकमा सहभागी हुन अमेरिका भ्रमणमा रहनुभएका अर्थमन्त्री वर्षमान पुन र विश्व बैङ्क उच्च नेतृत्वबीच वासिङ्टन डिसीमा भएको वार्तामा त्यसबारे सैद्धान्तिक सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री पुन र विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो अरुणसहित विश्व बैङ्कको लगानीमा नेपालमा सञ्चालित आयोजनाबारे छलफल भएको थियो ।

माथिल्लो अरुण परियोजनामा वित्तीय व्यवस्थापनका लागि विश्व बैङ्कले नेतृत्व गर्ने गरी सैद्धान्तिक निष्कर्षमा पुगिएको मन्त्री पुनको भ्रमण टोली सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिनुभयो ।

नेपाल सरकारले सैद्धान्तिक स्वीकृति दिएपछि सहमतिले औपचारिकता पाउनुका साथै वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता हुनेछ ।

यो परियोजनामा विश्व बैङ्कको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी बैङ्क तथा वित्तीय संस्थाबाट गरी ७० प्रतिशत ऋण लगानी जुटाउने र ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट वित्तीय व्यवस्थापन गर्ने तयारी छ ।

हाल माथिल्लो अरुण परियोजनाको पूर्व तयारीका कार्यमा दुई किलोमिटर सुरुङमार्ग र २१ किलोमिटर पहुँच मार्ग निर्माण अघि बढेको छ ।

परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति र मुआब्जा वितरण करिब सकिएको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित