नुवाकोटमा रहेको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले काठमाडौं विश्वविद्यालय (केयू) सँग ग्रिन हाइड्रोजन उत्पादनका लागि अध्ययन गर्न शुक्रबार एक सम्झौतामा हस्ताक्षर गरेको हो ।
यसअघि काठमाडौं विश्वविद्यालयले धुलिखेलस्थित विश्वविद्यालयको कम्पाउन्डभित्रै हाइड्रोजन ल्याब स्थापना गरी २०७९ मा हाइड्रोजन उत्पादन सुरु गरेको थियो ।
पछिल्लो समय केयूले हाइड्रोजनबाट चल्ने कारमा रिफ्युलिङसमेत गरिसकेको छ । तर निजी क्षेत्रबाट भने यसअघि हाइड्रोजन उत्पादनका लागि कुनै पनि कम्पनी अघि बढेका थिएनन् ।
‘वर्षामा विद्युत् उत्पादन बढी हुने तर खपत नबढ्दा हरेक वर्ष निजी ऊर्जा उत्पादकहरूको विद्युत् खेर गइरहेको छ,’ खतिवडाले भन्नु भयाे , ’यसरीखेर जाने विद्युतलाई हाइड्रोजन उत्पादनमा प्रयोग गरेर हिउँदको समयमा प्रयोग गर्न सकिए धेरै विद्युत् आयोजनाको वर्षाको समस्या समाधान हुन्छ ।’
दुई पक्षबीच भएको तीन बुँदे सम्झौतामा ग्रिन हाइड्रोजन उत्पादन गर्न केयूका प्राविधिकले तीन महिना सम्भाव्यता अध्ययन गर्ने र अध्यनअनुसार प्रतिवेदनका आधारमा जलविद्युत् परियोजना क्षमता अनुसार उत्पादन सुरु गर्ने बताइएको छ ।
सम्झौतामा केयूका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डीन प्रा.डा. मनिष पोखरेल, ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापा र
एकेडेमिया इन्डस्ट्रीका संयोजक डा. राम लामा तथा कम्पनीका तर्फबाट अध्यक्ष पूर्णलाल श्रेष्ठ, कार्यकारी निर्देशक बलराम खतिवडा र प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखरकुमार सुवेदीले हस्ताक्षर गर्नु भएकाे छ ।
सम्झौतापछि थापाले उक्त जलविद्युत् आयोजनामा वर्षामा बढेको पानीको बहावबाट ग्रिन हाइड्रोजन उत्पादन गरी वैज्ञानिक ढंगले सुरक्षितरुपमा जम्मा पारेर राख्ने र हिउँदमा प्रयोगमा ल्याउने गरी उत्पादन गरिने बताउनु भयाे ।
थापाले केयूलाई थप अनुसन्धान गर्न निजी क्षेत्रको जलविद्युत् आयोजनासँग भएको सम्झौताले सहज भएको र निजी क्षेत्रका अन्य हाइड्रो कम्पनीसँग सहकार्य गर्न पनि बाटो खुलेको बताउनु भयाे ।
कम्पनीका अध्यक्ष श्रेष्ठले जापानमा गएर ग्रिन हाइड्रोजन उत्पादन एवम् यातायातमा गरिएको प्रयोग हेरेर यसप्रति आकर्षित भई उत्पादनको योजना बनाएको बताउनु भयाे ।
उनले पहिलो चरणमा वर्षायाममा कम्पनीमा खेर जाने पानी र बिजुलीबाट ग्रिन हाइड्रोजन उत्पादन गर्ने र त्यसपछि क्षमता बढाउँदै नियमितता दिने योजना रहेको पनि बताउनु भयाे।
उत्पादन भएको हाइड्रोजनलाई सोही अवस्थामा ग्यास, एमोनिया वा अन्य सुरक्षित प्रविधिमा भण्डारण गर्ने योजना बनाइएको छ ।