२० वैशाख,काठमाडाैं । संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) की एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजाले अर्थमन्त्री वर्षमान पुन बिहिवार शिष्टाचार भेट गर्नु भएकाे छ ।
यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरुको बैठकमा सहभागी हुन नेपाल आएकी उहाँले बिहीबार मन्त्री पुनलाई भेट गर्नु भएकाे हाे ।
युएनडिपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्गोडा लाबे विग्नाराजाले आफूसहितको टोलीले सोलुखुम्बु हिमालय क्षेत्रको भ्रमणमा गएको र त्यहाँस्थित इम्जा ताल निरीक्षण गरेको जानकारी दिनु भयाे ।
यूएनडिपीको आर्थिक तथा प्राविधिक सहयोगमा इम्जा हिमतालमा जमेको हिउँ बाहिर निकालेर ताल फुट्न सक्ने जोखिम घटाइएको थियो ।
युएनडिपीले दोलखाको उत्तरी क्षेत्रस्थित रोल्वालिङ उपत्यकामा रहेको नेपालको सबैभन्दा ठूलो हिमताल च्छोरोल्पाको फुट्न सक्ने जोखिम पनि घटाएको थियो ।
आगामी दिनमा त्यस्तै जोखिममा रहेका सुनकोशी बेसिनका तीन र गण्डकी बेसिनका एक तालको जोखिम घटाउने योजना रहेको यूएनडिपीले जनाएको छ ।
भेटमा उहाँले युएनडिपीले नेपालका गामीण क्षेत्रमा स्वास्थ्य, शिक्षा र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेको बताउनु भयाे ।
आफूले भ्रमणका क्रममा वातावरणीय परिवर्तनका कारण नेपालले भोगेका समस्याबारे जानकारी पाएको भन्दै ‘ग्लोबल ग्रिन क्लाइमेट फन्ड’ को कार्यक्रम नेपालमा लागू गरिने बताउनु भयाे ।
भेटमा मन्त्री पुनले यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरुको बैठक नेपालमा राखेकामा धन्यवाद दिनु भयाे ।
जलवायु परिवर्तनका कारण नेपाल जस्ता अल्पविकसित मुलुकहरुले भोग्नुपरेका विकराल समस्याबारे संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले समेत नेपालको भ्रमण गरी जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका विकराल समस्याबारे विश्वव्यापी जानकारी गराएको स्मरण गर्नु भयाे ।
यस्तै यूएनडिपीले नेपालसहित हिन्दकुश हिमालय क्षेत्रका देशहरुका पक्षमा संयुक्त रुपमा काम गर्न अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग सम्झौता गरेकामा पनि खुसी व्यक्त गर्नु भयाे ।
नेपाल र यूएडिपीबीच लामो सहकार्य रहँदै आएको चर्चा गर्दै मन्त्री पुनले नेपालको आर्थिक तथा सामाजिक विकासमा पुरयाएको योगदानको प्रशंसा गर्नु भयाे ।
आगामी दिनमा समेत द्विपक्षीय सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे । भेटमा यूएनडिपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्गोडा लाबे पनि सहभागी रहनु भएकाे थियाे ।
मा प्रकाशित