२४ बैशाख, दैलेख । दैलेख जिल्लाको भैरवी गाउँपालिकाकाे जलजलेमा पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको ‘ड्रिलिङ’ को काम आइतवारबाट शुरू भएकाे छ ।
अन्तिम अन्वेषण कार्यअन्तर्गतको ‘ड्रिलिङ’ को शुभारम्भ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्नु भएकाे छ ।
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको ‘ड्रिलिङ’ को शुभारम्भ गर्नुहुँदै उद्याेग मन्त्री भण्डारीले पेट्रोलियम पदार्थको अन्तिम अध्ययनले सफलता प्राप्त गर्ने र आर्थिक समृद्धिको ढोका दैलेखबाटै खुल्नेछ भन्नुभयो । आयोजना स्थलमा नेपाल र चीनको झण्डा राखेर उहाँले औपचारिक शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा खानी तथा भू–गर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले अन्वेषणको अन्तिम अध्ययनले सकारात्मक प्रतिवेदन प्राप्त भएमा दैलेख नेपालको आर्थिक समृद्धि केन्द्र बन्ने दबी गर्नुभयो ।
“देश–विदेशमा अन्वेषणको विषयले चर्चा पाएको छ,” उहाँले भन्नुभयो, “आम नेपालीमा खुसी छाएको छ । यसमा हामी पनि उत्साहित भएका छौँ ।”
सो अवसरमा उद्योग मन्त्री भण्डारी, खानी तथा भू–गर्भ विभागका महानिर्देशक घिमिरे, प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुले आयोजना स्थलको अध्ययन र अवलोकन गर्नुभएको थियो ।
नेपालगञ्जबाट आयोजनास्थल दैलेखको जलजलेमा पुगेका एक सय ५० बढी ट्रकका सामानहरू झारेर जडानको कार्य तत्कालै थालिएकाले काम चाँडो भएको खानी तथा भू–गर्भ विभागका भू–गर्भ विद तथा आयाेजना प्रमुख दिनेश नापितले जानकारी दिनु भयाे ।
विभागका अनुसार आगामी ६ महिनामा अन्तिम अन्वेषण सम्पन्न हुनेछ । अध्ययनपछि कति परिमाणमा पेट्रोल र ग्यास भण्डारण छ भन्ने कुरा पत्ता लाग्नेछ । आर्थिक हिसाबले उत्पादन योग्य भएको खण्डमा प्रशोधनसहितका अन्य प्रक्रियाहरू सुरु हुनेछन् ।
नेपाल र चीन सरकारबीच विसं २०७५ मा भएको जिटुजी सम्झौताअनुसार चीन सरकारको करिब रु दुई अर्ब ५० करोड अनुदान लागतमा अध्ययनको काम भइरहेको बताइएको छ ।
मा प्रकाशित