मुलुकको विकास र आर्थिक समुन्नतिका लागि महिला आर्थिक रूपले बलियो हुनुपर्छ : अर्थमन्त्री

आर्थिक परिवेश

२४ बैशाख, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटका बारेमा महिला उद्यमीहरूसँग छलपफल गरी सुझाव लिनु  भएको छ ।

छलफल कार्यक्रममा अर्थमन्त्री पुनले महिलाको आर्थिक अवस्था बलियो नभएसम्म मुलुकको अर्थतन्त्र सबल नहुने बताउनुभयो ।

बजेट निर्माण गर्दा महिला उद्यमी लक्षित सहुलियतपूर्ण व्यवस्थाहरू गर्ने सोचमा आफू रहेको अर्थमन्त्रीले उल्लेख गर्नु भयाे  ।

बढीभन्दा बढी महिलालाई कसरी उद्यमी बनाउन सकिएला भन्नेबारे आफूलाई सुझाव दिन अर्थ मन्त्रीले महिला उद्यमीहरूलाइ आग्रह गर्नुभयो ।

‘महिलाको आर्थिक अवस्था राम्रो भए छोरीहरूले अनिवार्य गुणस्तरीय शिक्षा पाउने अवस्था बन्छ । राम्रो शिक्षा भएपछि छोरीहरू आफैँ आत्मनिर्भर बन्छन् ।

छोरीहरू आर्थिक रूपले अघि आउँदा मात्र राजनीति, प्रशासन, सामाजिक सेवा सबैतिर महिला अगाडि आउने वातावरण बन्छ ।’

मन्त्री पुनले मुलुकको समग्र विकास र आर्थिक समुन्नतिका लागि महिला आर्थिक रूपले बलियो हुनुपर्ने अनिवार्य शर्त नै रहेको उल्लेख गर्नुभयो ।

मन्त्री पुनले महिलाका नाममा पास गर्दा घरजग्गाको रजिष्ट्रेशनमा शुल्क छुट दिने नीतिका कारण २७ प्रतिशत महिला सम्पत्तिको मालिक भएको स्मरण गर्नुभयो ।

‘२७ प्रतिशत महिलासँग सम्पत्ति भएकाले व्यवसाय गर्दा बैंकले ऋण पत्याउने अवस्था छ । बाबुआमाले पनि सम्पत्तिको हक राख्ने भएकाले पढाउनुपर्छ छोराछोरी बराबर हो भन्ने धारणाको विकास भएको छ ।

किन भने छोरी पढायो भने बुहारी पनि पढेकै आउँछ भन्ने लाग्न थालेको छ । यो सम्पत्ति सम्बन्धका कारण भएको परिवर्तन हो ।

पुरुषलाई सम्पत्ति धितो राखेर व्यवसाय गर्छु भन्ने अवस्था पर्याप्त छ । तर, कमै मात्र छोरीहरूको हातमा सम्पत्ति भएकाले ऋण लिएर व्यवसाय गर्ने अवस्था अझै छैन’, उहाँले भन्नुभयो।

‘यो वर्षको बजेटमा हजारौँ छोरीहरूलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्ने विषयमा सोचिरहेको छु ।’ उहाँले नयाँ आउने महिला उद्यमीलाई  अहिले व्यवसायमा रहेका महिलाहरूले बाटो देखाउनुपर्ने उल्लेख गर्नुभयो ।

महिलाको हातमा सम्पत्ति भएपछि उनीहरूको आत्मविश्वास पनि बढ्ने उहाँको भनाइ थियो ।

सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री पुनले महिला उद्यमी महासङ्घका पदाधिकारीसँग छलफल गर्नुभएको हो ।

कार्यक्रममा महासङ्घ अध्यक्ष एवं सञ्चार उद्यमी शोभा ज्ञवाली, डा. माला खरेल, अभिलाषा पौडेललगायतले महिला उद्यमकाे प्रवद्र्धनका लागि बजेटमा समेट्नुपर्ने विषयबारेमा अर्थमन्त्रीलाइ सुझाव दिनु भएकाे थियाे  ।

मा प्रकाशित