०८ जेठ , काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विमस्टेकले जलवायु परिवर्तन र हिमाल जोगाउने साझा मुद्दालाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभएको छ ।
राष्ट्रपति पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका विमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार गर्नुभएको शिष्टाचार भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
“हिमालदेखि सागरसम्म यो क्षेत्रकै मानिसको जीवन गाँसिएको छ, त्यही भएर जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दामा विमस्टेक गम्भीर बनोस् भन्ने मेरो आग्रह छ”, राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
उहाँले विमस्टेकमा हाल रहेको पर्वतीय अर्थतन्त्रको क्षेत्रसँगै त्यसमा पर्वतीय वातावरण जोडेर काम गर्न पनि सुझाव दिनुभयो ।
राष्ट्रपति पौडेलले बङ्गालको खाडी क्षेत्रका राष्ट्रहरुबीच सहकार्य सुदृढ बनाउन यस मञ्चलाई नेपालले उच्च महत्व दिएको बताउनुभयो ।
ऊर्जा, पर्यटन, कृषि, व्यापार र लगानी विमस्टेक क्षेत्रको साझा समृद्धिको महत्त्वाकाङ्क्षा पूरा गर्न सहयोग पुर्याउने उच्च सम्भावना भएको क्षेत्रहरू भएको उहाँको भनाइ थियो ।
सो अवसरमा महासचिव पाण्डेले जलवायु परिवर्तन विमस्टेकका सात सहयोगका क्षेत्रमध्ये एउटा महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै पर्वतीय पर्यावरण सन्तुलनमा राख्नका लागि विमस्टेकले काम गरिरहेको बताउनुभयो ।
उहाँले संस्कृति, पर्यटन र भिसा सम्बन्धी विषयमा जनस्तरको सम्बन्धको क्षेत्रमा नेपालले नेतृत्वदायी र महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
मा प्रकाशित