१७ जेठ,काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट रहेकाे बताउनु भएकाे छ ।
करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे छड उत्पादक संघका पदाधिकारीसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको बताउनु भयाे ।
संघका अध्यक्ष साहिल अग्रवाल नेतृत्वमा गएका व्यवसायीले बजेटमा फलामे डण्डी निर्माणमा प्रयोग हुने स्पन्ज आइरनमा करका दर हेरफेर गर्दा आफूहरु मर्कामा परेको गुनासो गरेका थिए ।
जवाफमा मन्त्री पुनले कसैको मुख हेरेर नभई संसदीय समिति, आन्तरिक राजश्व विभागले गरेको अध्यनको रिपोर्ट, विगतदेखि नै व्यवसायीले राख्दै आएका माग तथा राजनीतिक तहको सुझावसमेतलाई मध्यनजर गरी तथ्यपरक रुपमा करका दरमा परिवर्तन गरिएको अर्थमन्त्री पुनले प्रष्ट पार्नु भयाे ।
‘मन्त्री र सचिवको स्वविवेकले वा कसैको मुख हरेर यो निर्णय भएको होइन’, मन्त्री पुनले भन्नु भयाे, ‘धेरै छलफल गरेर मात्र निस्कर्षमा पुगेका हौं ।
उद्योग बन्द गर्नुपर्छ भन्ने पक्षमा होइन भन्ने स्पष्ट गर्न चाहन्छु ।’ करको दर हेरफेरको निर्णयले उद्योगहरुलाई प्रतिस्पर्धी बनाउन मद्धत पुग्ने विश्वास हाम्राे छ अर्थमन्त्रिले भन्नु भयाे ।
मन्त्री पुनले निर्णयमा अडिग रहे पनि व्यवसायीका जायज माग र गुनासा सुन्न तत्पर रहेको बताउनु भयाे । उहाँले संवाद गर्नुको अर्थ मन्त्रालय निर्णयबाट पछि हट्न खोजेको वा घोषणा गरिसकिएकाले अब पछि हट्नै सकिँदैन भन्ने रुपमा बुझ्न नहुने पनि स्पष्ट पार्नु भयाे ।
उहाँले करका दर हेरफेरको विषयलाई लिएर धेरै विवादको विषय बनाउन जरुरी नरहेको भन्दै तथ्यका आधारमा छलफल गरी निस्कर्षमा पुग्न व्यवसायीलाई आग्रह गर्नु भयाे ।
मन्त्री पुनले निजी क्षेत्रका छाता संगठनहरु नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बजेटपूर्वका छलफलहरुमा दिएका अधिकांश सुझाव बजेटमा समेटिएको उल्लेख गर्नु भयाे ।
निजी क्षेत्रलाई कम दबाबमा राखेर स्पेश दिनुपर्छ भन्ने आधारमा नीति तय गरेका छौं । निजी क्षेत्रले दबाबमा बसेर काम गर्नुपर्दैन ।’ अर्थमन्त्रीले भन्नु भयाे ।
मा प्रकाशित