२५ जेठ, काठमाडौं । पूंँजी बजारको विकास र विस्तारसंगै नेपाल धितोपत्र बोर्डले नियमनको प्रभावकारिता अझै बढाउनु पर्नेमा काठमाण्डौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिनु भएको छ ।
नेपाल धितोपत्र बोर्डको ३२औ बार्षिकोत्सव समारोहमा अर्थ मन्त्रालयका राजस्व सचिव डा.रामप्रसाद घिमिरेले पूँजीबजारको विस्तारसंगै नेपाल धितोपत्र बोर्डको लागि अवसर र चुनौती थपिएकोले त्यसै अनुसार नियमनलाई सवल बनाउनु पर्ने बताउनु भयो ।
बजारको विस्तारले पूँजी परिचालनको अवसर दिएको भन्दै सचिव घिमिरेले बजारमा आउने गलतप्रवृति नियन्त्रण गर्न र पुँजीलाई उत्पादनशिल क्षेत्रमा परिचालनलाई गर्न आग्रह गर्नु भयो ।
धितोपत्र बजारको विश्वसनियता अभिवृद्धि गर्न जमेर रहेको पूँजी संकलन तथा परिचालनमा बोर्डको कृयाशिललता अझै बढनु पर्नेमा सचिव घिमिरेले जोड दिनु भयो ।
बोर्डको नियमन क्षमता विकासका लागि जग्गाको प्रवन्धका लागि सरकारसंग सहजिकरण गर्ने प्रतिवद्धता पनि सचिव घिमिरेले व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल वीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद शिलवालले नियामकीय निकायहरु नेपाल राष्ट्र बैक, नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरण बीच प्रष्ट नियामकीय दृष्टिकोण सहित कार्यगत एकता र सहकार्यको आवश्यकता रहेको बताउनु भयो ।
उहाँले अर्थ मन्त्रालय मातहतको नेपाल धितोपत्र बोर्डको आफनै भवन र जग्गा नहुनु बिडम्बनाको कुरा हो भन्दै सरकारले यसै बर्षभित्र धितोपत्र बोर्डलाई जग्गा उपलब्ध गराउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल धितापत्र बोर्डका अध्यक्ष तथा अर्थमन्त्रालयका सहसचिव नरेन्द्रकुमार रानाले विगत ६ महिनादेखि रेकिएको धितोपत्र बोर्डको काम हाल सुचार भएको भन्दै बोर्डलाई दिर्घकालसम्म काम गर्ने अध्यक्ष छिटो नियूक्त गरेर पठाउन सरकारलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीले बोर्ड गरेका सुधारका काम र सरकारले बोर्डको क्षमता विकास तथा संस्थागत संरचनाको सुधारका लागि अघि सारेका कार्यक्रमहरुका वारेमा जानकारी गराउनु भएको थियो ।
धितोपत्र बजार तथ्याड.कमा
धितोपत्रको दोस्रो बजारमा सेयर कारोबारका लागि अनलाइन प्रणाली (टीएमएस)को युजर आईडी लिनेको संख्या वैशाख मसान्तसम्म २२ लाख १६ हजार २४७ जना पुगेकोे छ । वि.सं २०७६ सालमा अनलाइन शेयर कारोवारकर्ताको संख्या ११ हजार ७ सयको हारहारीमा रहेको थियो ।
एक वर्षको अवधिमा टीएमएस लिनेको संख्या करिब ५ लाखले बढेको छ । त्यस्तै वैशाख मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ६२ लाख ७२ हजार ३५१ पुगेको छ ।
वैशाख मसान्तसम्म मेरो सेयर खाता खोल्नेको संख्या ५३ लाख २२ हजार ९६९ पुगेको धितोपत्र बोर्डले जनाएको छ । यस अवधीमा धितोपत्र बोर्ड मार्फत ६ खर्ब ४२ अर्ब पूँजी परिचालन भएको छ ।
मा प्रकाशित