२५ जेठ,काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शिक्षा प्रणाली र लगानी नीतिमा सुधार ल्याउन नसक्दा देशले बेरोजगारीको सामना गर्नु परेको बताउनुभएको छ ।
आज वीरेन्द्रनगरमा आयोजित रोजगार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कँडेलले मुलुकभित्रै प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपालले बेरोजगारीको सामना गर्नु परेको बताउनुभएको हो ।
“युवा शक्तिलाई मुलुकभित्र टिकाई राख्न शिक्षा प्रणाली र लगानीमा नीति सुधार ल्याउनुपर्ने आवश्यकता छ,” मुख्यमन्त्री कँडेलले भन्नुभयो ।
सोही बमोजिम कर्णाली सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगारी र उद्यमशीलताका योजना अघि सारेको उहाँको जानकारी दिनुभयो ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले नेपाली नागरिकसँग परम्परागत सीप भए पनि त्यसले मान्यता नपाउँदा नेपाली श्रमिकको सीपको मूल्याङ्कन नभएको धारणा राख्नुभयो ।
“नेपाली युवासँग डोको, राडी, पाखी बुन्ने सीप छ, यो सीप इन्जिनियरको भन्दा कम छैन, तर यो सीपले प्रमाणपत्र पाउन सकेको छैन, जसका कारण सीप भएका युवाको
पहिचान र मूल्याङ्कन हुन सकेको छैन,” उहाँले भन्नुभयो । आइतबारसम्म सञ्चालन हुने मेलामा सरकारी तथा निजी क्षेत्रका गरी ४० वटा स्टल राखिएका छन् ।
मा प्रकाशित