सूचना प्रविधि क्षेत्रको नीतिगत तथा पूर्वाधार विकास सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री पुन

आर्थिक परिवेश

२९ जेठ, काठमाडौं ।   अर्थमन्त्री वर्षमान पुनले सरकारले सूचना प्रविधि क्षेत्रको पूर्वाधार निर्माण र नीतिगत सहजता प्रदान गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजनले) काठमाडौमा आयोजना गरेको ‘सूचना प्रविधि दशकः अबको बाटो’ विषयक कार्यक्रममा अर्थमन्त्री पुनले सूचना प्रविधिलाई अर्थतन्त्रको संबाहकका रुपमा अघि बढाएको बताउनु भएको हो ।

आगामी आर्थिक वर्षको बजेटले सूचना प्रविधि क्षेत्रको विकासलाई केन्द्रमा राखेको अर्थमन्त्री पुनले बताउनु भयो ।

जलविद्युत् क्षेत्रको विकासका लागि डेढ दशकअघि सरकारले लिएको नीतिको निरन्तरता अहिलेसम्म पनि कायम रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले सरकार परिवर्तन हुँदैमा सरकारका नीति परिवर्तन नहुने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रको विकास गर्नका लागि तीनवटै तहका सरकार, निजी क्षेत्र र सरोकारवाला सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो ।

आगामी आवको बजेटमार्फत् सरकारले सूचना प्रविधि क्षेत्रमा लगानी दशक घोषणा गर्नु ऐतिहासिक नीतिगत निर्णय रहेको सञ्चारमन्त्री शर्माको भनाइ छ ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले आगामी आर्थिक वर्षको बजेटमा उल्लेख भएको सूचना प्रविधि क्षेत्रमा एक दशकमा ३० खर्बको निर्यात गर्नसक्ने सम्भावनाबारे विस्तृत अध्ययन नभएपनि विषयगत विज्ञ र अहिलेको अवस्थालाई विश्लेषण गरेर त्यस्तो अनुमान गरिएको बताउनुभयो ।

सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडिएस) परामर्शदाता एवम् सूचना प्रविधि क्षेत्रमा सीप तथा रोजगार विज्ञ डा अमृता शर्माले यस क्षेत्रमा बजेटमा व्यवस्था भएका विषय सकारात्मक रहेको बताउनुहुँदै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

मा प्रकाशित