०२ असार,काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६८ प्रतिशत मात्रै भएको छ ।
यस अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२ दशमलव छ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७२ दशमलव सात प्रतिशत बजेट खर्च हुदाँ विकास खर्च भने ४४ दशमलव ६८ प्रतिशत मात्रै भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो ।
उक्त बजेटमा चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर विनियोजन भएकोमा जेठ मसान्तसम्ममा आठ खर्ब २२ अर्ब ८० करोड ९३ लाख बराबर मात्रै खर्च भएको छ ।
पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबरको बजेट विनियोजन भएकोमा जेठ मसान्तसम्ममा एक खर्ब ३४ अर्ब ९७ करोड ९२ लाख अर्थात लक्ष्यको ४४ दशमलव ६८ प्रतिशत बराबर मात्रै हो ।
११ महिनामा सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ६४ दशमलव १५ प्रतिशत बराबर मात्रै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।
चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा नौ खर्ब ४४ अर्ब ५८ करोड ९४ लाख बराबर संकलन भएको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले रु ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखेको थियो ।
हालसम्म उठेको वैदेशिक अनुदानको अवस्था हेर्दा वार्षिक लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख बराबर मात्रै सङ्कलन भएको देखिन्छ ।
मा प्रकाशित