०६ असार, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले करदातालाई कर तिर्न प्रेरित गर्ने गरी काम गर्न मातहतका निकायहरूलाई निर्देशन दिनु भएको छ ।
चालु आर्थिक वर्षको अन्तिम महिनामा राजश्व सङ्कलन बढाउने उद्देश्यले कर र राजश्व प्रशासनसँग सम्बन्धित सिनियर कर्मचारीहरूलाई बिहिबार मन्त्रालयमा बोलाएर उहाँले सामूहिक निर्देशन दिनुभएको हो ।
‘करदातालाई अनुचित ढंगले दबाब दिने होइन उचित ढंगले कर तिर्न प्रेरित गरौँ’, उहाँले भन्नुभयो, ‘राज्य करदाताको अभिभावक पनि हो । ‘डिक्टेटर’ जस्तो व्यवहार नगरी सहजीकरण गर्नुपर्छ, सहकार्य गर्नुपर्छ ।’
उहाँले असल नियतले काम गर्ने करदाताका जायज गुनासा सुन्न र कानूनले मिलेसम्म सम्बोधन गर्न निर्देशन दिनुभयो । तर, अनुचित र गलत प्रवृत्तिको संरक्षण गर्न नसकिने उहाँको भनाई थियो ।
खराब प्रवृत्तिसँग राज्यले राज्यकै रुपमा प्रस्तुत हुनुपर्नेमा सचेत गराउनुभयो । ‘कडाई गर्नुपर्ने ठाउँमा कडाई र खुकुलो गर्नुपर्नेमा खुकुलो गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘राम्रा करदातासँग असल र मैत्रीपूर्ण व्यवहार गर्नुस् ।
कर छल्ने गलत प्रवृत्तिसँग भने राज्यले राज्यकै रुपमा प्रस्तुत हुनुपर्छ ।’ लगानी गरेर असल नियतले नाफा कमाउन चाहने उद्योगी–व्यवसायीलाई सहजीकरण गर्नु राज्यको दायित्व भएकाले त्यसमा कुनै कमी नहुन पनि उहाँले निर्देशन दिनुभयो ।
‘असल तवरले लगानी गरेर नाफा कमाउनुस् । राज्यले त्यसका लागि सहजीकरण गर्छ । तर, जसरी हुन्छ मुनाफा आर्जन गर्नुपर्छ भन्ने प्रवृत्तिलाई पनि निरुत्साहित गरिन्छ’, मन्त्री पुनले भन्नुभयो ।
उहाँले राजनीति, प्रशासन र व्यवसाय सबैतिर स्वार्थ समूह रहेको चर्चा गर्दै स्वार्थ समूहबाट अलग रहन कर्मचारीलाई आग्रह गर्नुभयो ।
उहाँले आफूले अमुक व्यावसायिक घरानाको पक्ष वा विपक्षमा काम गर्न कहिल्यै सङ्केतसम्म नगरेको भन्दै सबैलाई काम गर्ने वातावरण दिएको उल्लेख गर्नुभयो ।
तर, सेवा प्रवाहमा ढिलासुस्ती र अनावश्यक हैरानी दिने काम भए स्वीकार्य नहुने स्पष्ट गर्नुभयो । सेवा प्रवाह पारदर्शी, वैज्ञानिक र छिटोछरितो बनाउन मन्त्री पुनको निर्देशन थियो ।
फरक प्रसङ्गमा उहाँले चालु आर्थिक वर्षको बजेटमा श्रोतको अनुमान वस्तुवादी नभएकाले राजश्व सङ्कलनको लक्ष्य भेटाउन कठिन रहेको औँल्याउनुभयो ।
बजेटमार्फत निर्धारण गरिएका राजश्वसहित अन्य श्रोतहरूका अनुमान नमिल्दा आम मानिसमा बजेटप्रतिको विश्वसनीयता नरहने अवस्था आएकाले यसपटक सच्याउन खोजिएको बताउनुभयो ।
मन्त्री पुनले चालु आर्थिक वर्षमा सरकार आफैँले निर्धारण गरेका लक्ष्यको एक चौथाई श्रोत पनि जुटाउन नसक्नु गम्भीर विषय भएकाले यसपटक सच्याउने प्रयास गरिएको स्पष्ट गर्नुभयो ।
‘अरूलाई ढाँट्न सकिन्छ । आफैँलाई ढाँट्न सकिँदैन । आर्थिक वर्ष सकिनै लाग्दा हामीमाथि सबैले प्रश्न गर्छन् । जवाफ दिन हामीले आफूलाई तयार राख्नैपर्छ ।’
त्यस क्रममा अर्थसचिव मधुकुमार मरासिनी र राजश्व सचिव डा. रामप्रसाद घिमिरेले चालु आर्थिक वर्षको अन्तिम महिना असारमा बक्यौता असुलीलाई तीव्रता दिन निर्देशन दिनुभयो ।
उहाँहरूले चालु आर्थिक वर्षको राजश्व सङ्कलनको अन्तिम लक्ष्य भेट्न अधिकतम प्रयास गर्नुपर्ने बताउनुभयो ।
गत वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार भएको अवस्थामा राजश्व सङ्कलन सन्तोषजनक हुन नसक्नुको कारणबारे समीक्षा हुने सचिवद्वयको भनाइ थियो ।
कार्यक्रममा आन्तरिक राजश्व विभागका प्रमुख शिवलाल तिवारी र भन्सार विभाग प्रमुख ढुण्डीप्रसाद निरौलाले राजश्व सङ्कलनको अवस्था, चुनौती र सम्भावनाबारे प्रस्तुति राखेका थिए ।
छलफलमा मन्त्रालयका विभागीय प्रमुखहरू दुवै विभागका महानिर्देशक, उपमहानिर्देशक र निर्देशकहरू, काठमाडौँस्थित कार्यालय प्रमुखहरू, कर र राजश्व प्रशासनका अधिकृतहरू उपस्थित थिए ।
उपत्यकाबाहिरका कार्यालय प्रमुखहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।
मा प्रकाशित