११ महिनामा वीरगञ्ज भन्सार कार्यालयकाे राजस्व स‌‌‌कलन ‍लक्ष्य भन्दा झण्डै ३७ प्रतिशत कम

आर्थिक परिवेश

११ असार वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय आइसिपीले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा १ खर्ब ४१ अर्ब ८९ करोड ८४ लाख ३ हजार राजस्व असुली गरेको छ ।

अर्थ मन्त्रालय भन्सार विभागले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि जेठ मसान्त सम्मका लागि आईसिपी भन्सारलाई २ खर्ब २४ अर्ब ६१ करोड ६६ लाख २६ हजार राजस्व उठाउने लक्ष्य तोकेको  छ  ।

चालु आर्थिक वर्षकाे ११ महिनामा माल सामानको आयातमा गिरावट आएसँगै  लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आइसिपी भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो ।

आइसिपी भन्सार वीरगन्जले तोकिएको लक्ष्य भन्दा झण्डै ३७ प्रतिशत कम राजस्व असुली गरेको छ ।

आइसिपी भन्सार वीरगन्जले ११ महिनामा अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा  ८२ अर्ब ७१ करोड ८२ लाख २३ हजार कम राजस्व असुली गरेको वीरगञ्ज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी वीरगन्ज भन्सार कार्यालयले भन्सार राजस्वतर्फ ५२ अर्ब ५४ करोड ८९ लाख ७८ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ ६० अर्ब ३४ करोड २३ लाख ५६ हजार राजस्व असुली भएको छ ।

त्यसैगरी अन्त शुल्कतर्फ ९ अर्ब ३८ करोड ५२ लाख ३१ हजार असुली गरेको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले बताउनुभयो ।

त्यसैगरी वीरगञ्ज भन्सार कार्यालयले पूर्वाधार करतर्फ १२ अर्ब ७५ करोड ८८ लाख ७४ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्कतर्फ १ अर्ब ३० करोड २३ लाख ८३ हजार असुली गरेको छ ।

मा प्रकाशित