नेपालमा लगानी विस्तारका लागि ओपेक फन्डलाई ढकालकाे आग्रह

आर्थिक परिवेश

१२ असार, काठमाडौ ।   नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फन्डलाई आग्रह गर्नुभएको छ ।

अष्ट्रियाको भिएनामा मङ्गलबार ओपेक फन्डका अध्यक्ष अब्दुलहमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटमा अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै ओपेक फन्डका लागि नेपाल नयाँ र ठूलो लगानीको गन्तव्य बन्न सक्ने बताउनुभएको हो ।

अध्यक्ष ढकालले विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतका बीचमा रहेको नेपालको रणनीतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताउनुभएको नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ ।

ढकालले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायत क्षेत्रहरूमा लगानीको ठूलो सम्भावना रहेको बताउनुभयो ।

नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालीन विद्युत् व्यापार सम्झौताको स्मरण गर्दै ढकालले यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहूच पु¥याउने हुँदा जलविद्युत् तथा नवीकरणीय ऊर्जामा लगानीका अवसर रहेको बताउनुभयो ।

उहाँले महासङ्घ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताउँदै नेपाली लगानीकर्ताहरू विदेशी लगानीका साथ नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि तयार रहेको समेत बताउनुभयो ।

कार्यक्रममा ओपेक फन्डका अध्यक्ष अब्दुलहमिद अल्खलिफाले नेपालमा ओपेक फन्डले गरेका लगानीको चर्चा गर्दै नेपालको नवीकरणीय ऊर्जा, जलविद्युत् तथा साना तथा मझौला उद्योगको प्रवद्र्धनमा ओपेक फन्डले थप लगानी गर्न तयार रहेको बताउनुभएको छ ।

मा प्रकाशित