विगत चार वर्षको औषतकाे तुलनामा चालु बर्षमा धानकाे उत्पादन ५ दशमलव ०८ प्रतिशतले बढी

आर्थिक परिवेश

 १५ असार, काठमाडाैं ।  चालु आर्थिक बर्षमा मुलुकमा  धानको कूल उत्पादन गत बर्ष भन्दा ४ दशमलव ३३ प्रतिशतले बढेर ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन पुगेको छ ।

जुन विगत चार वर्षको औषत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशतले बढी हो ।

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार कूल धानबाली लगाइएकाे   क्षेत्रफल गत आवको तुलनामा शून्य दशमलव ६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको छ ।

गत बर्ष कुल १४  लाख ४७ हजार ७ सय ८९  हेक्टर क्षेत्र फलमा धान राेपाइ भएकाे थियाे ।

यो क्षेत्रफल गत चार आवको औषत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानबालीको औषत उत्पादकत्व गत आवको तुलनामा ४ दशमलव ९७ प्रतिशतले वद्धि भई ३ दशमलव ९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ ।

यो गत चार वर्षको औषत उत्पादकत्वभन्दा ६ दशमलव ९२ प्रतिशतले बढी हो ।

चालु आवमा धानको उत्पादन कोशी प्रदेशमा बढी रहेको छ भने कर्णाली प्रदेशमा न्यून छ । चालु आवमा उत्पादकत्वतर्फ कोशी प्रदेश ४ दशमलव

४३ मेट्रिक टन प्रतिहेक्टरसहित अग्र स्थानमा रहन गयो भने मधेस प्रदेश ३ दशमलव ४९ मेट्रिक टन प्रतिहेक्टरमा सीमित भई न्यून स्थानमा रहन पुग्यो ।

गत आवको तुलनामा उत्पादन र उत्पादकत्व वुद्धिका हिसाबले लुम्बिनी प्रदेश अग्रस्थानमा छ । मधेस प्रदेश ऋणात्मक अवस्थामा छ ।

चालु आवमा धान उत्पादन वृद्धि हुनुमा बीउको सहजै उपलब्धता र रोग किराको प्रकोपमा कमी, बाढ़ीपहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग तथा मौसमी अनुकूलतालाई लिइएको छ ।

मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएकाले अरु प्रदेशको तुलनामा उत्पादन र उत्पादकत्वमा ह्रास भएको छ ।

मा प्रकाशित