सत्ता समीकरणकाे सहमती पछि शेयर बजार प्रभावित परिसूचक २१ सयमा

आर्थिक परिवेश

१८ असार, काठमाडौं ।  एकाएक दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरण बन्ने निश्चित भएपछि यसको असर नेपाली शेयर बजारमा देखिएकाे छ ।

गएराति दुई दलबीच सत्ता बाँडफाँटमा मोटामोटी सहमति भएपछि मंगलबार बजार खुलेको २ मिनेट नपुग्दै ४ प्रतिशत बढ्यो, पहिलो ‘सर्किट ब्रेक’ लाग्यो र कारोबार २० मिनेट स्थगित भयो ।

दोस्रो पटक खुलेपछि ५ प्रतिशत बजार बढ्यो, दोस्रो सर्किट ब्रेक लाग्यो । तर, त्यसपछि मध्याह्न १२ः०१ बजे खुलेको बजारमा भने केही बिक्री चाप देखियो ।

दुई ठूला राजनीतिक दल मिल्दा सेयर बजारमा उत्साह त थियो नै, तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने भएपछि बजार केही मोडियो ।

प्रचण्डले राजीनामा दिएर बाटो खोल्दा छिट्टै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त हुने थियो । तर, विश्वासको मत नै लिने भएपछि नयाँ सरकार गठन तत्काल नहुने भएको हो ।

यही कारण १२ः०१ बजे २१६२ अंकसम्म पुगेको बजार तेस्रो सर्किट लाग्ने अनुमानबीच ओर्लिन थाल्यो ।

अन्ततः अघिल्लो दिनको तुलनामा बजार ४७ अंक बढेर २१०० मा बन्द भयो । मंगलबार सेयर बजारमा प्रभाव देखिनुमा दुई ठूला राजनीतिक दलको सत्ता समीकरण प्रमुख कारण रहेको लगानीकर्ताहरूले  बताएका छन् ।

एमाले नेता विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चाले पनि बजार बढ्न मद्दत पुगेको केही बताउँछन् । गएराति नै सत्ता बाँडफाँट क्रममा अर्थ मन्त्रालय एमालेले सम्हाल्ने सहमति भएको छ ।

मा प्रकाशित