२८ असार, काठमाडौँ ।मुलुकको अग्रणी बाणिज्य बैक नबिल बैंकले एक कार्यक्रम आयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा दिगो विकासमा बैकिङ क्षेत्रकाे भुमिका भन्ने विषयमा छलफल गरिएको थियो ।
काठमाडौँमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित गरेको उल्लेख गर्दै कार्यक्रम र सेवा प्रवाहलाई सोहीअनुसार अघि बढाइएको जानकारी दिनु भयाे ।
बैंकले सुरु गरेको दिगो बैंकिङको योजना दीर्घकालीन सोचमा आधारित रहेको उल्लेख गर्दै उनले यसमार्फत कार्बन उत्सर्जन कम गर्न, हरित प्रविधिमा लगानी गर्न र सामाजिक र आर्थिक विकासलाई प्रवद्र्धन गर्ने परियोजना अगाडि बढाउन सहयोग पुग्ने उहाँले उल्लेख गर्नु भयाे ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले सम्पूर्ण ग्राहक, कर्मचारी, नियामक, सरकारी निकाय, शेयरधनीलगायत सरोकारवालालाई यहाँसम्म आइपुग्नका लागि दिएको साथ र साहयोगका लागि धन्यवाद दिनु भयाे ।
बैंकले ४० वर्ष पुगेको अवसरमा आगामी ४० दिनसम्म दिगो विकाससम्बन्धी जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गर्ने समेत उहाँले जानकारी दिनु भयाे ।
कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर हाम्डीले दिगो विकासका लक्ष्य प्राप्तका लागि ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि नबिल जस्ता बैंकले लगानी गर्नुपर्नेमा जोड दिनु भयाे ।
“दिगो विकासका लक्ष्य पूरा गर्नका लागि विश्वका लागि प्रत्येक वर्ष ४ ट्रिलियन डलर आवश्यक पर्छ, जुन कोरोना महामारीअघि वार्षिक २.५ ट्रिलियन डलर आवश्यक पर्ने अनुमान थियो”, “नेपालका हकमा २३ अर्ब डलर आवश्यक भएको र प्रत्येक वर्ष ६ अर्ब डलर अपुग रहेकाे बताउनुभयाे ।
साे रकम नेपालकाे कुल जीडीपीको ११ प्रतिशत हो ।
उहाँले नेपालले दिगो विकासका लक्ष्य पूरा गर्नका लागि ठूलो लगानी आवश्यक भएको र नबिल बैंकले दिगो विकासका क्षेत्रमा ठूलो लगानी बढाउन सक्ने समेत धारणा व्यक्त गर्नु भयाे ।
त्यस अवसरमा मुख्यवक्ता सामाजिक उद्यमी अनिल चित्रकारले पर्यावरण जोगाउन आवश्यक भएकोमा जोड दिनु भयाे । नबिल जस्ता बैंकले दिगो विकासका क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
“चितवन राष्ट्रिय निकुञ्जमा बाघ भएकै कारणले काठमाडौँलगायतका सहरका ट्राभल एजेन्सीहरु सञ्चालनमा छन्, पर्यावरण जोगाएकै कारणले रोजगारी सिर्जना भएको छ”, उहाँले दावी गर्नु भयाे ।
उनले शिवपुरी राष्ट्रिय निकुञ्ज संरक्षण गरेकै कारण आज काठमाडौँबासीले दैनिक तीन करोड लिटर स्वच्छ खानेपानी प्राप्त गरेको तथ्यांक पेस गर्दै यसलाई मूल्यमा हेर्दा दिनहुँ ६० करोड रुपैयाँको भएको बताउनु भयाे ।
सन् १९८४ मा जुलाई १२ मा नेपाल अरब बैंकका नाममा स्थापना नबिल बैंक ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाइ केन्द्रमा राखी सेवा प्रवाह गर्दै आएको छ ।
स्थापनाकालदेखि नै प्रविधिको प्रयोगमा जोड दिएको बैंकले पछिल्लो समय डिजी बैंकमार्फत ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको बैकले जनाएको छ ।
सरलीकृत बैंकिङ सेवा विस्तार गर्ने क्रममा उच्चतम प्रविधिको प्रयोग गर्दै आएको नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ सुरुआत गरेको थियो ।
नबिलले सन् १९९४ मा पहिलो पटक एटिएम, सन् २०१२ मा पहिलो पटक मोबाइल बैंकिङ, सन् २०१४ मा अन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप सेवा सुरुआत गरेको थियो ।
सन् २०१६ मा कन्ट्याकलेस पेमेन्ट कार्ड नेपालमा पहिलो पटक ल्याएको थियो । बैंकले पछिल्लो पटक सन् २०२२ मा ‘एन बैंक’ सुरुआत गरी नेपालमा पहिलो पटक मोबाइलबाटै ६० भन्दा बढी बैंकिङ सेवा प्रवाह गरेको थियो ।
बैंकले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१६ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएकाे छ ।