बाढी तथा पहिराेमा परी जेठ २८ देखि साउन १३ सम्म १ सय ४३ जनाकाे मृत्यु

आर्थिक परिवेश

 १४ साउन,  काठमाडौँ  ।  मनसुनी विपद्मा परी गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन् ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ देखि आजसम्म बाढी पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना रहेका छन् ।

मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको हो ।

अहिलेसम्म काठमाडौँ उपत्यकामा नौ, कोशी प्रदेशमा ३५, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा नौ, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा एक सय ६१ जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा ७१ जनाको उद्धार गरिएको छ ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक जना गरी ४७ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजीकार्य जारी छ ।

बाढीका कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् । दुई सय ४१ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

छ सय आठ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार ४२ घरपरिवार विस्थापित भएका कार्कीले जानकारी दिनुभयो ।

मा प्रकाशित