१९ साउन काभ्रेपलाञ्चोक । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा यहाँ आलुको ‘ब्राण्डिङ’ थालिएको छ ।
आलुको ‘हब’ मानिने यस जिल्लाको पनौती नगरपालिका–३ कुशादेवीमा आलु भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको हो ।
‘आलु सुपरजोन’ का रूपमा जिल्लाको चिनारी बनाउन तथा यहाँको आलुको गुणस्तरीयतालाई प्रचारप्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने ध्येयले प्याकेजिङ सुरु गरिएको जनाइएको छ ।
प्रारम्भिक चरणमा हाल दुई किलो, तीन किलो र पाँच किलो तौलमा आलुको प्याकेजिङ हुने गरी ब्राण्डिङ सुरु गरिएको खाद्यान्न तथा बीउ आलु, अलैंची, फलफूल नर्सरी उद्योगका सञ्चालक राजेन्द्र थापाले बताउनुभयाे । उहाँका अनुसार स्थानीयस्तरमा उत्पादित आलुको ब्रान्डिङसहित बजारीकरण थालिएको हो ।
भण्डारणका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना (सुपरजोन)को आर्थिक सहयोगमा भण्डारण कक्ष निर्माणसहित प्याकेजिङ गरिएको आलु बजारीकरण सुरु गरिएको थापाले बताउनु भयाे ।
‘हाललाई एकतले भवनबाट भण्डारणसहित प्याकेजिङ थालेका छौँ, अब चालु आर्थिक बर्षमा भवनको निर्माण थप्दै प्याकेजिङको परिमाण बढाउनेछौँ,’ उहाँले उल्लेख गर्नु भयाे ।
उद्योगलाई भण्डार कक्ष र प्याकेजिङ सुरुआतका लागि परियोजनाले गत आवमा पहिलो चरणमा १४ लाख सहयोगमा गरेको थियो ।
केही दिनअघि आलु प्याकेजिङलाई जिल्लास्थित बजार पठाइएकाले मागको अवस्थाबारे अनुगमनसमेत गर्न थालिएको उद्योगका अर्का सञ्चालक शशी अधिकारी बताउँछन् ।
उद्योगले ‘काभ्रेको चिनारी : पोषिलो आलुको तरकारी’को नारासहित हाललाई प्रतिकेजी ८० रुपैयाका दरले प्याकिङ गरिएको आलु बजार पठाएको हो । ‘
आलुको गुणस्तर कायमै राखी बजारको मागअनुसार फरकफरक तौलमा प्याकिङ गर्ने योजना बनाएका छौँ,’ अधिकारीले भने । उनका अनुसार उद्योगले फरकफरक जातको आलु ‘ग्रेडिङ’ गरी बजार पठाएको छ ।
उपभोक्ताले आफूलाई मन पर्ने जातको आलु किनेर लैजान सक्ने गरी प्याकेजिङ गरेको जनाइएको छ । सुपरजोन समन्वय समितिका प्रमुख सुमन नेपालले ढुक्क भएर काभ्रेपलाञ्चोकमा प्याकेजिङ गरिएको आलु खान आग्रह गर्नु भएकाे छ ।
उहाँका अनुसार यस आलु ब्राण्डिङ कार्यक्रमले अन्य व्यावसायिक कृषकलाई उत्प्रेरण मिलेको पाइएको छ । आलु सुपरजोन कार्यालयले काभ्रेपलाञ्चोकमा आलुको उत्पादन तथा उत्पादनमा वृद्धि, मल्चिङ प्रविधिलगायतमा सहयोग आएको जनाएको छ ।
आलुको बिउ र मल्चिङ तथा नस्ल सुधार लगायतमा कार्यक्रम कार्यालयले सन्चालन गर्दै आइरहेको छ । कार्यालय प्रमुख जय महतोले आगामी दिनमा जिल्लाको अन्य क्षेत्रमा आलुको प्याकेन्जिङ र ब्राण्डिङ विस्तार गर्न कार्यालयले सहजीकरण गर्ने बताउनु भयाे ।
जिल्लाको पाँचखाल, मण्डनदेउपुर, पनौती, बनेपा तथा नाला आलु उत्पादन हुने प्रमुख क्षेत्र हुन् । आलुको पकेट क्षेत्र मानिएको काभ्रेको नौ हजार हेक्टर क्षेत्रफलमा वार्षिक करिब एक लाख ७५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।
मा प्रकाशित