२८ साउन, विराटनगर । नेपाली चियाकाे स्वदेश तथा विदेशमा प्रर्वदन गर्न सहयाेग गर्ने उद्देश्यले काेशी प्रदेश सरकारले अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजना गर्ने भएकाे छ ।
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी पुसमा अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजनाको तयारी भइरहेको बताउनु भएको छ ।
संसदीय पत्रकार मञ्च कोशी प्रदेशमा आबद्ध पत्रकारसँग आइतवार मुख्यमन्त्री कार्यालयमा भएको भेटघाटमा मुख्यमन्त्री कार्कीले सम्मेलनले निर्यात बढाउन र आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले विसं २०८२ लाई पर्यटन वर्षका रुपमा मनाउने सरकारको योजनालाई मूर्तरुप दिन अहिलेदेखि नै आवश्यक तयारी भइरहेको पनि जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो, “कोशी प्रदेश सरकार विस्तार गर्ने क्रममा छु र सकेसम्म नौ वटा मन्त्रालयभन्दा बढी नबनाउने सोचसहित नेपाली कांग्रेस पनि सरकारमा सहभागी हुन्छ ।”
उहाँले संसद्को अधिवेशन सुरु भएपछि छ÷सात वटा ऐन संशोधनका तयारी भइरहेको बताउनुभयो । त्यस अवसरमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको पनि उपस्थिति रहेको थियो ।
मा प्रकाशित