काठमाडौँ । कृषि तथा पशुपन्छी बिकास मन्त्री रामनाथ अधिकारीले दूध किसानको रकम भुक्तानीमा आफूले कुनै सम्झौता नगर्ने बताउनुभएको छ ।
राष्ट्रिय दुग्ध बिकास बोर्डको समन्वयमा आज भएको दुग्ध व्यवसायी सहित सरोकारवालाको छलफलमा मन्त्री अधिकारीले किसानले उधारोमा दूध दिने डेरी तथा उद्योगीले नगदमा बिक्री गर्ने र सो रकम अन्यत्र लगाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्नुभयो ।
आफूले पद समालेदेखि दूध किसानको समस्या समाधान गर्नेतर्फ केन्द्रित भएको बताउँदै मन्त्री अधिकारीले दुग्ध बिकास संस्थान (डिडिसी) मार्फत किसानलाई बाँकी रकम भुक्तानी गर्ने प्रयासमा लागिरहेको बताउनुभयो ।
निजी डेरी तथा उद्योगीहरूलाई पनि किसानको रकम यथाशीघ्र भुक्तानी गर्न निर्देशन दिँदै मन्त्री अधिकारीले किसानको रकम भुक्तानीका लागि आफूले अर्थ मन्त्रालयसँग कुरा गरेको बताउनु भयाे ।
अर्थ मन्त्रालयले रकमान्तर गर्ने अवस्था अहिले नरहेको जनाउ दिएको उल्लेख गर्दे किसानले गाई भैँसी पाल्न छोड्ने अवस्था आउन नदिन सरकारसँगै निजी क्षेत्र पनि त्यतिकै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री अधिकारीले दुग्ध क्षेत्र देखिएका समस्या समाधानका लागि सबै सरोकारवालासँग छलफल गर्न तयार रहेको बताउनुभयो ।
छलफलमा दुग्ध उद्योगी तथा व्यवसायीहरूले यस व्यवसायमा १८ प्रतिशत योगदान निजी क्षेत्रको रहेको उल्लेख गर्दै सरकारले दुग्ध बस्तुको निर्यातमा अनुदानको व्यवस्था गर्न, लागत मूल्य घटाउने उपायतर्फ ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभयो ।
छलफलमा मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले दूधको उत्पादन बढ्दै जाँदा यस्को व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा अध्ययन गर्न बोर्डलाई निर्देशन दिनुभयो ।
सचिव मिश्रले चाड पर्व नजिकिएकाले मेला आदि गरेर भए पनि मौज्दात बिक्री गर्ने व्यवस्था मिलाउन दुग्ध बिकास संस्थानलाई निर्देशन पनि दिनुभयो ।
बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले दुग्ध किसानको रकम भुक्तानीमा सबै पक्ष गम्भीर बन्नु पर्ने बताउनुभयो । दूधको मूल्य समायोजन वैज्ञानिक रहेको भन्दै उहाँले किसान समस्यालाई बोर्डले गम्भीर रुपमा लिएको उल्लेख गर्नुभयो ।
मा प्रकाशित