अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलको साओपाउलो विमानस्थलको ट्रान्जिटमा अलपत्र

आर्थिक परिवेश

  ११ भदाै काठमाडौँ  ।   अमेरिका जान हिँडेका १७६ जना नेपाली नागरिक​ ब्राजिलको साओपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा अलपत्र परेका छन् ।

दूतावासले मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै त्यहाँ अलपत्र परेका सबै नेपाली यात्रुहरू सकुशल रहेको जनाएको छ ।

ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका एक सय ७६ नेपाली नागरिक सकुशल रहेका र उनीहरूलाई आवश्यकताअनुसार मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब सात सय विदेशी रोकिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाली नागरिकलाई मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको उल्लेख गरेको छ ।

दक्षिण अमेरिकाका ब्राजिललगायत मुलुक हुँदै अवैध रूपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकमा आउने प्रवृत्ति बढ्दो छ ।

सङ्गठित रूपमा सञ्चालित मानव तस्करको प्रलोभन र उक्साहटमा परी नेपालबाट युवा यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको दूतावासले जनाएको छ ।

कैयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशि खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको छ ।

‘यसैबीच ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाललगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ।

‘अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ ।’

मानव तस्करको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने सन्दर्भमा जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कनु हुन दूतावासले अनुरोध गरेको छ ।

मा प्रकाशित