यस पटककाे दशैमा नयाँ नाेट नपाइने चलनचल्तीका सुकिला नोट सटही दिने राष्ट्र बैंककाे तयारी

आर्थिक परिवेश
२१ भदाै   काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा हाल प्रयोग गरिरहेकै चलनचल्तीका नोट सटही दिने भएको छ ।
विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेकोमा यसपटक भने प्रयोगमा आइसकेका सफा नोट सटहीको व्यवस्था गरिएको राष्ट्र बैकले जनाएको छ ।
दसैँको मुखमा सटही गरिएका नोट चाडबाड सकिएपछि बैङ्क तथा वित्तीय संस्थामा फिर्ता आउने र तत्पश्चात् ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था रहने नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईले बताउनु भयो ।
विगतका दसैँमा सटही गरिएका नोटको दुईदेखि झण्डै तीन गुणासम्म सुकिला नोट राष्ट्र बैङ्क र बैङ्क तथा वित्तीय संस्थाका ढुकुटीमा रहेको र ती नोट ढुकुटीमा राखिराख्दा गल्ने, सड्ने,
बिग्रने तथा कुहिने अवस्था सृजना हुनुभन्दा तिनै नोटको सटही व्यवस्था गर्नु उपयुक्त भएकाले नयाँ नोटको सटही नगर्ने निर्णय गरिएको निर्देशक भट्टराइले जानकारी दिनुभयो ।
मुलुकभर सफा नोट प्रचलनमा ल्याउने उद्देश्यले राष्ट्र बैंकले आर्थिक वर्ष २०६७÷६८ को मौद्रिक नीतिमार्फत ‘सफा नोट नीति’ ल्याएको थियो ।
नोट छपाइमा विदेशी मुद्राको ठूलो राशि खर्च हुने भएकाले त्यसमा कमी ल्याउन पनि नोट सफा राख्न राष्ट्र बैकले अनुरोध गरेको छ ।
नोट राष्ट्रको सम्पत्तिसमेत भएकाले यसमा रङहरू लगाउने, लेख्ने वा केरमेट गर्ने, नोटको आकार बिगार्नेजस्ता कार्य गरी नेपाली नोटको दुरुपयोग गर्ने÷गराउनेउपर कारबाही गर्न सकिने व्यवस्था रहेको छ ।
झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, कीराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर अङ्क, चित्र तथा सुरक्षण विशेषताहरू नबुझिने वा बिग्रिने गरी रङ
लागेको, लेखिएको, कोरिएको, मेटिएको, च्यातिएको वा पूर्व राजाको तस्बिर अङ्कित नोटलाई पुनः निष्काशन अयोग्य नोटका रुपमा वर्गीकरण गरी नेपाल राष्ट्र बैंकले नष्ट गर्ने गरेको छ ।
मा प्रकाशित