व्यावसायिक मौरीपालनबाट बर्सेनि ३५ लाख आम्दानी

आर्थिक परिवेश

१८ कार्तिक, कुश्मा ।    पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाले अहिले व्यावसायिक मौरीपालनबाट बर्सेनि ३५ लाख आम्दानी गर्न थाल्नुभएको छ ।

कुनै बेला जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा चिनिनुभएका उहाँ सुन्तलाखेती छाडेर मौरीपालनमा आकर्षित हुनुभएको हो ।

घर अगाडिको बगैँचामा तीन सयभन्दा बढी सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा बनाउनुभएका तिमिल्सिना सुन्तलाका बोट मर्दै गएपछि समस्यामा पर्नुभएको थियो ।

सुन्तलामा भविष्य नदेखेपछि उहाँ मौरीपालनतर्फ आकर्षित हुनुभएको हो ।

विगत २४ वर्षदेखि व्यावसायिक रूपमा मौरीपालन व्यावसाय गर्दै आउनुभएका तिमिल्सिनाले वार्षिक ३५ लाखसम्म आम्दानी हुने जनाउँदै अहिले एक सयभन्दा बढी मौरीका घार रहेका बताउनुभयो ।

विसं २०५७ देखि व्यावसायिक माहुरीपालन गर्न थालेका तिमिल्सिना जिल्लाकै नमूना मौरीपालक किसान हुनुहुन्छ ।

त्यहाँ उत्पादित मह धेरै मात्रामा घरबाटै बिक्री हुने गरेको र बाँकीे मह काठमाडौँ, चितवन, बुटवललगायत बजारमा ब्राण्ड बनिसकेको छ ।

तरकारी खेती, पशुपक्षी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्न नपर्ने भएकाले पनि मौरीपालनमा किसानको आकर्षण बढेको मोदीका अगुवा किसान उमाकान्त शर्माले बताउनुभयो ।

अहिले पर्वतका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायतका क्षेत्रमा व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री समेत गर्दै आएका छन् ।

मा प्रकाशित