चार महिनामा चिया र अलैँची मात्र ३ अर्ब ११ करोडकाे निर्यात साढे चार खर्बभन्दा बढीको व्यापार घाटा

आर्थिक परिवेश

०८ मंसिर,काठमाडौ ।   चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको विवरणअनुसार यस अवधिमा पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख बराबरको आयात र ५२ अर्ब ६७ करोड बराबरको निर्यात भएको छ ।

यसरी कूल पाँच खर्ब ६६ अर्ब पाँच करोड ६७ लाखको वैदेशिक व्यापारमा चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख घाटा देखिएको विभागले जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात शून्य दशमलव १७ र निर्यात चार दशमलव १६ प्रतिशतले बढेको छ । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र चार महिनामा दुई खर्ब ८१ अर्ब ११ करोड ६६ लाख घाटा व्यहोरेको छ ।

कात्तिक मसान्तसम्ममा भारतबाट तीन खर्ब १६ अर्ब ८८ करोड ५३ लाख बराबरको वस्तु आयात हुँदा ३५ अर्ब ७६ करोड ८७ लाख बराबरको निर्यात भएको छ ।

त्यस्तै चीनबाट एक खर्ब तीन अर्ब १८ करोड २५ लाखको आयात र ६८ करोड २३ लाख ७७ हजारको निर्यात हुँदा एक खर्ब दुई अर्ब ५० करोडको व्यापार घाटा देखिएको छ ।

पहिलो चौमासिकमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै देखिएको छ । कात्तिक मसान्तसम्ममा ६९ अर्ब चौरासी करोड २२ लाख बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ ।

यस अवधीमा १५ अर्ब ९६ करोड ९२ लाख बराबरको फलामजन्य वस्तु र १३ अर्ब ४० करोड ४८ लाख बराबरको स्मार्टफोन आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

बढी निर्यात भएका वस्तुमा भने कार्पेट पहिलो स्थानमा रहेको छ । चार महिनामा तीन अर्ब ६० करोड आठ लाख बराबरको कार्पेट निर्यात भएको छ भने सोयाबिन तेल तीन अर्ब ४१ करोड, यस अवधीमा चिया र अलैँची मात्र ३ अर्ब ११ करोड १० लाख रुपैया बराबरको निर्यात भएको छ ।

 

मा प्रकाशित