१० मंसिर, काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेकाे छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सन्तोषनारायण श्रेष्ठलाइ अध्यक्षमा नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता पृथिवि सुब्बा गुरुडले जानकारी दिनु भयाे ।
यसअघि विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका उनी व्यावसायिक पृष्ठभूमिका हुन् ।
उनले एमबीएसम्मको अध्ययन गरेका छन् । धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन रहँदै आएको थियो ।
पूर्वअध्यक्ष रमेश हमालले कार्यकाल पूरा गरेसँगै गत वर्ष पुस २१ देखि बोर्ड अध्यक्ष पद खाली थियो। ११ महिनापछि सरकारले बल्ल रिक्त पदपूर्ति गरेको हो।
पहिले नै रिक्त पदपूर्ति गर्न खोजे पनि नियुक्ति प्रक्रिया गिजोलिन पुगेको थियो। छनोटमा परेकामध्ये केहीले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण बहिष्कार गर्दै आएका थिए।
सुरुमा सर्ट लिस्टमा परेकामध्ये श्रेष्ठ र निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतीकरणको लागि उपस्थित भए पनि डा नवराज अधिकारी, चिरञ्जीवी चापागाई र कृष्णबहादुर कार्की अनुपस्थित भएका थिए।
सिफारिस समितिले कम्तीमा ३ जना उम्मेदवारको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था भएकाले उक्त प्रक्रिया बीचैमा रद्द गरिएको थियो।
त्योसँगै सरकारले फेरि राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा नै समिति गठन गरेको थियो।
त्योसँगै पुनः आवेदन माग्ने तयारीमा समिति रहे पनि ५ मध्येका सन्तोषनारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेपछि रोकिनपुगेको थियो। उक्त रिटमा सन्तोषको पक्षमा अल्पकालीन आदेश आएकोमा पछि अर्थात् गत असार २१ मा सोही आदेशले निरन्तरता पाएको थियो।
सरकारी निर्णय कार्यान्वयन हुन नपाएपछि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया थप लम्बिन पुगेको थियो। ३ जनाको नाम सिफारिस गर्न नसकेपछि समितिले महान्यायाधिवक्ताको कार्यालयसँग समेत राय मागेको थियो। कार्यालयले पनि ठोस राय दिन नसक्दा अध्यक्ष नियुक्तिले पूर्णता पाउन सकेको थिएन।
सोहीबीच साउनमा अर्थमन्त्री विष्णु पौडेलले बोर्डकै सञ्चालक समिति सदस्य रहेका महेश बराललाई कार्यवाहक अध्यक्ष बनाउनु भएकाे थियाे । उहाँलाई असार १२ गते अध्यक्षको जिम्मेवारी दिइएको थियो।
सरकार फेरबदल भएसँगै अर्थमन्त्रीमा पौडेल आएपछि अध्यक्षको जिम्मेवारी सहसचिव बराललाई दिइएकाे थियाे। यहीबीच महान्यायाधिवक्ताको कार्यालयले अर्थमन्त्री पौडेललाई प्रक्रिया अघि बढाउने राय दिएपछि भदौको चौथो हप्तादेखि अर्थमन्त्री पौडेलले नियुक्ति प्रक्रियाबारे सक्रियता देखाउनु भएकाे थियाे ।
अर्थ मन्त्रालयले पटक पटक अन्तर्वार्तामा नआएका छनोटमै परेका ३ जनालाई असोज दोस्रो हप्ता पुनः तेस्रोपटक मौका दिएको थियो। उनीहरुलाई असोज १८ मा बोलाइएकामा सिफारिस समितिका संयोजक डा. शिवराज अधिकारी नै उपस्थित नहुँदा रोकिएको थियो।
त्यसपछि डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई मंसिर ९ गते बोलाइएको थियो।
यी ३ मध्ये चापागाईंबाहेक दुई जना उपस्थित भएसँगै आइतबार सिफारिस समितिबाट सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम अध्यक्षका लागि सिफारिस भएकामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो।
मा प्रकाशित