२०२४ काे ११ महिनामा १० लाख ५५ हजार पर्यटकले नेपालकाे भ्रमण गरे

आर्थिक परिवेश

१६ मंसिर, काठमाडौं ।   सन् २०२४ को ११ महिनामा दश लाख ५० हजार बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् ।

नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ जना पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

पर्यटक आगमन संख्याले तेस्रो पटक १० लाख नाघेको हो ।

सन् २०२४ नोभेम्बरमा मात्र १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ ।

‘पछिल्लो ११ महिनाको तथ्यांकबाट पर्यटन उद्योगले केही आशा गर्ने ठाउँ देखाएको छ,’ पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताउनु भयो ।

नोभेम्बरमा भारतबाट १९ हजार ९ सय १५ जनाले नेपाल भ्रमण गरेका छन भने चीनबाट ९ हजार ४ सय ५८ आएका छन् ।

भारतबाट आउने पर्यटक गत वर्षको सोही अवधिको तुलनामा साढे १८ प्रतिशतले घटेको छ । चीनबाट आने पर्यटकहरु गत वर्षको नोभेम्बरको तुलनामा साढे २४ प्रतिशतले बढेका छन् ।

यस अवधीमा अमेरिकाबाट १० हजार ९ सय ८१ आएका छन्, जुन गत वर्ष नोभेम्बरको दाँजोमा ४.२ प्रतिशतले कम हो । यस अवधीमा बेलायतबाट ६ हजार ६ सय ११ आएका छन् ।

त्यस्तै अस्ट्रेलियाबाट ४ हजार ८ सय २९ जना आएका छन् । यो गत वर्ष सोही अवधिको दाँजोमा साढे ४ प्रतिशतले कम हो । गत नोभेम्बरमा बंगलादेशबाट ५ हजार १ सय ४८ र श्रीलंकाबाट ४ हजार ३ सय ९५ जना आएका थिए ।

बोर्डका अनुसार गत नोभेम्बरमा सार्क राष्ट्रबाट ३१ हजार १ सय ६७, अन्य एसियाली देशबाट २४ हजार ८ सय ९७, युरोपबाट २६ हजार १ सय ५५ र मध्यपूर्वबाट १ हजार ४ सय ८८ पर्यटक नेपाल आइपुगेका थिए ।

२०२३ नोभेम्बरमा १ लाख ८ हजार ६ सय ३० आएका थिए । २०२४ नोभेम्बरमा ५.४ प्रतिशतले बढेका छन् ।

मा प्रकाशित