०८ माघ, काठमाण्डौ । चालु आर्थिक वर्षको ६ महिनाको अवधीमा नेपालले सात खर्ब २३ अर्ब ५८ करोड १३ लाखको व्यापार घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत पुस मसान्तसम्ममा आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख बराबरको वस्तु आयात हुँदा ९८ अर्ब ७८ करोड ९२ लाख बराबरको मात्रै निर्यात भएको छ ।
यस अवधीमा नेपालले नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गरेकाे थियाे ।
गत आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ३१.७८ प्रतिशतले बढदा आयात सात प्रतिशतले बढेको छ यस अवधीमा व्यापार घाटा चार दशमलव ३८ प्रतिशतले बढेको छ ।
नेपालले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग व्यहोरेको छ । पछिल्लो छ महिनाको अवधिमा भारतबाट पाँच खर्ब दुई अर्ब ८५ करोड बराबरका वस्तु आयात गर्दा ७३ अर्ब ७१ करोड १२ लाख बराबरको निर्यात भारतमा गरेको छ ।
जसअनुसार यो अवधिमा भारतसँगको मात्र व्यापार घाटा चार खर्ब २९ अर्ब १४ करोड बराबर रहेको छ । त्यस्तै चीनसँग एक खर्ब ५८ अर्ब ६२ करोड र अर्जेन्टिनासँग २२ अर्ब ६२ करोड व्यापार घाटा रहेको छ ।
नेपालले एक सय २३ मुलुकसँग व्यापार घाटा बेहोरेको छ भने ३२ वटा मुलुकसँग व्यापार नाफा बेहोरेको छ । नेपालले गर्ने वैदेशिक व्यापारमा बढी नाफा रहेका मुलुकमा डेनमार्क, अस्ट्रिया, रसियन फेडेरेसन,माल्दिभ्सलगायत छन् ।
मा प्रकाशित