नेप्से परिसूचक र कारोवार रकम उच्च अंकले बढ्यो

आर्थिक परिवेश

०९ माघ,काठमाण्डौ ।    बुधबार नेपाली शेयर बजारको परिसूचक नेप्से उच्च अंकले बढेर बन्द भएको छ ।    यस दिन बजारको कारोवार रकम पनि उच्च अंकले बढेको छ ।

पछिल्ला ३ कारोबार दिनदेखि सामान्य अंकले बढेर बन्द भएको नेप्से, यस दिन भने उच्च अंकले बढेर बन्द भएको हो ।     यस दिन नेप्से परिसूचक ५२.३६ अंकले बढेर   २६६५.४५ विन्दुमा पुगेको छ ।

यस दिन ३२२ कम्पनीहरुका १ करोड ७६ लाख ९२ हजार कित्ता शेयरहरु ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँमा किनबेच भएका छन् ।

यस दिन दुई कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

 

त्यस्तै, यस दिन ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ।

कारोबारमा आएको बाराही हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ८.२१ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ ।  उक्त कम्पनीको ६१ करोड ३६ लाख रुपैयाँ बराबरको शेयरको किनबेच भएको छ ।

त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको ४१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने भने हिमालयन रि इन्स्योरेन्सको करिब ३२ करोडको शेयर किनबेच भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचकहरु बढेका छन् । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशतले बढेको छ ।

त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक करिब ४ प्रतिशत बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

यस दिन बैंकिङ्ग, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

 

मा प्रकाशित