संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष जस्ता अभियन्ताहरूले सहमति र एकताका लागि सहकार्य गर्न आह्वान

आर्थिक परिवेश
२९ फागुन,काठमाडाैं ।    गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष लगायतका अभियन्ताहरूले आगामी अक्टोबरमा एकता महाधिवेशन गर्न शेष घले नेतृत्वको समितिलाई सुझाव दिनु भएकाे छ ।
संघमा अहिले देखिएको असहज अवस्थाबाट निकास दिन  सहमति र एकताका लागि सहकार्य गर्न आह्वान गर्दै उहाँहरुले सबै पक्षबाट हदैसम्मको लचकता  अपनाई अघि बढ्न सुझाएका हुन् ।
 शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आउँदो मे महिनामा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेपनि महाधिवेशनको प्राविधिक तयारीका लागि समय लाग्ने भन्दै अक्टोबरमा गर्नुपर्ने सुझाव अभियन्ता तथा संस्थापकहरूले दिनुभएको हो ।
राष्ट्रिय समन्वय परिषद्को निर्वाचन  आगामी जुलाईमा मात्रै सम्पन्न हुने र सो सम्पन्न  नभई महाधिवेशन सम्भव नहुने तर्क अभियन्ताहरुको थियो ।
गैर आवासीय नेपाली संघद्वारा मंगलबार (११ मार्च २०२५ ) भर्चुएल माध्यमबाट आयोजित बृहत संवाद कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले  नेपाललाई समृद्ध बनाउन र संसारभरि रहेका नेपालीहरुबीच भाइचारा बढाउन  हठ त्यागेर  लाखौं नेपालीलाई एउटै विचारको साथ अगाडी बढ्न आग्रह गर्नुभयो ।
एनआरएनएका पूर्व अध्यक्ष जीबा लामिछानेले  २०२३–२५ का लागि निर्वाचित डा बद्री केसी नेतृत्वको कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिँदै गत साता परराष्ट्र मन्त्री डा आरजु देउवाले समन्वयकारी भूमिका खेलेको भन्दै सर्वोच्च अदालतका  दुवै फैसलालाई कार्यान्वयन गरेर जानु पर्ने बताउनुभयो ।
उहाँले बद्री केसी नेतृत्वको कार्य समितिलाई   अक्टोबर २०२५ सम्म काम गर्न दिनपर्नेमा सबै एकमत हुनुपर्ने सुझाव दिनुभयो ।    उहाँले संस्थाको गुमेको साख फर्काउन अझै पनि सम्भव रहेको उल्लेख गर्नुभयो ।
एनआरएनएका पूर्व अध्यक्ष कुमार पन्तले पछिल्लो परिस्थितिमा संयम भई बुद्धिमानीपूर्वक अघि बढ्न आग्रह गर्नुभयो ।
एनआरएनएका पूर्व अध्यक्ष भवन भट्टले संघ अहिले विशेष परिस्थितिमा रहेको बताउँदै आफ्नो व्यक्तिगत हित भन्दा संस्थाको हितलाई माथि राख्न आग्रह गर्नुभयो   “सम्मानित अदालतलाई हामीले मान्नै  पर्छ।
परराष्ट्र मंत्रीले दिएको विकल्पमा जाउँ,“ उहाँले भन्नुभयो । एनआरएनएका संस्थापक सचिव भिम उदासले  प्राविधिक कुरा छोडेर भावनात्मक एकतामा जान पनि तयार हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
त्यस्तै संस्थापक सदस्य इन्द्रा बनले  पनि  अक्टोबर २०२५ मा महाअधिवेशन र चुनाव गर्न सबै पक्षसंग संवाद गरेर अगाडी बढ्न  सुझाव दिनुभयो ।
एनआरएनएका संस्थापक सदस्य  राम प्रताप थापाले संस्थाको एकताको लागि आफुले विगतमा बलिदान गरेको स्मरण गराउँदै संस्थाको हितलाई सर्वोच्च ठान्नुपर्नेमा जोड दिनुभयो ।
 एनआरएनएका अध्यक्ष डा बद्री केसीले   २००३ मा नेपालको समृद्धिको लागि विदेशमा रहेका नेपालीहरुलाई जोड्ने पवित्र उद्देश्य लिएर संस्था स्थापना गरिएको उल्लेख गर्नुभयो ।
 ११ औं कार्य समितिको वैधतामाथि कुनै प्रश्न छैन।  निष्पक्ष चुनाव गर्न हामी तयार छौँ “ उहाँले भन्नुभयो । उच्चस्तरीय समिति सबैको समिति  र विश्वासको थलो बन्न  योग्य भए आफूले सम्पूर्ण रुपमा सहयोग गर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘हामी एकताका विरोधी होइनौँ तर उच्चस्तरिय समिति सबैले विश्वास गर्न योग्य बन्नुपर्यो, सबै सदस्य त्यहाँ हुनुपर्यो ।
कार्यक्रममा एनसीसीका अध्यक्षहरुले यही  मे महिनामा भ्याउने गरी अधिवेशन गर्न सम्भव नभएको स्पष्ट पार्नुभयो ।
उहाँहरुले  आपसी सहमतिले केन्द्रमा महाधिवेशनको मिति पर सारे पनि आफुहरुलाई मान्य हुने बताउँदै उच्चस्तरीय समितिका  १३ जना सदस्य एकै ठाउँमा बसेर संवादद्वारा अहिलेको समस्यालाई निकास दिन आग्रह पनि गर्नुभयो ।
झन्डै  साढे चार घण्टा सम्म चलेको   अन्तरक्रियाको संचालन महासचिव गौरी राज जोशी तथा सचिव राधिका गुरुङले गर्नुभएको थियो ।
बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्रालय लगायत नेपाल सरकारका सम्बद्ध निकायलाई बुझाउने तयारी छ । कार्यक्रममा ७ सय भन्दा बढी एनआरएनए अभियन्ता जोडिएकाे एन अार एन ए सचिवालयले जनाएकाे छ   ।
मा प्रकाशित