२४ चैत्र,काठमाडौ । पछिल्लो समय विश्वका ठूला शेयर बजारहरुको कारोवार ओरालो लागेको छ् ।
अमेरिका, जापान, बेलायत, भारतका शेयर बजारहरुको कारोवार अमेरिकी राष्ट्रपतिको कर सम्बन्धी नयाँ नीतिका कारण क्रमश घटेका छन् ।
हालै अमेरिकाबाट आयात हुने वस्तुमा चीनले ३४ प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेपछि शुक्रबार अमेरिकी सेयर बजारमा ठूलो गिरावट भएको छ ।
त्यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनबाट आयात हुने वस्तुमा अतिरिक्त ३४ प्रतिशत कर लगाउने घोषण गर्नु भएको थियो ।
अमेरिकी स्टक मार्केट नास्डाक शुक्रबार एकै दिन ५.८ प्रतिशतले घट्यो । विगत एक महिनामा यो सूचक १५.९८ प्रतिशत घटिसकेको छ ।
करिब डेढ महिनामा यो सूचक २२ प्रतिशतले घटेको छ ।
माइक्रोसफ्ट, गुगल, मेटा, अमेजन, एप्पल, टेस्लाजस्ता ठूला टेक कम्पनी सूचीकृत रहेको नास्डाक इन्डेक्समा गिरावट आएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
१९ फेब्रुअरीमा २० हजार नाघेको नास्डाक शुक्रबार १५ हजार ५८७ मा झरेको छ ।
नास्डाकमात्र नभई सक्रिय ठूला कम्पनीलाई प्रतिनिधित्व गर्ने डाओ जोन्स विगत एक महिनामा ९.८९ प्रतिशतले घटेको छ ।
त्यस्तै ठूलो पूँजीका ५ सय कम्पनीलाई प्रतिनिधित्व गर्ने एसएन्डपी सूचक विगत एक महिनामा ११.५८ प्रतिशत घटेको छ ।
६ मार्चमा ५ हजार ७३८ अंकमा रहेको यो सूचक हाल ५ हजार ७४ मा झरेको छ ।
जापानको स्टक मार्केट इन्डेक्स निक्की शुक्रबार मात्रै २.७५ प्रतिशतले घटेको र चीनको सांघाई स्टक मार्केट पनि विगत एक महिनामा १.१६ प्रतिशतले समाचार माध्यमहरुले जनाएका छन् ।
लन्डनको एफटीएसई सूचक शुक्रबार मात्रै ४.९ प्रतिशतले घट्यो । विगत एक महिनामा यो सूचक ७.२३ प्रतिशत घटिसकेको छ ।
गत सेप्टेम्बरमा ८५ हजार अंकसम्म पुगेको भारतको बीएसई सेन्सेक्स हाल ७५ हजार ३६४ अंकमा झरेको छ । शुक्रबार मात्रै सो सूचक १.२२ प्रतिशतले घट्यो ।