१९ बैशाख, काठमाण्डौ । सरकारले धौवादी फलाम कम्पनी र विशेष आर्थिक क्षेत्र (सेज)लाई सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने अवधारणा अघि सारेको छ ।
सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत यस्तो नीति लिएको हो सरकारको नीति तथा कार्यक्रम पेस गर्नुहुँदै शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले ती दुवै निकायलाई सार्वजनिक निजी साझेदारी अवधारणामा अघि बढाउने सरकारको नीति रहेको उल्लेख गर्नुभयो ।
यस्तै, पेट्रोलियम, फलाम, तामाजस्ता खानीको उत्खनन र प्रयोगलाई महत्वका साथ अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
व्यावसायिक वातावरण सुधार गर्न सरकारले अध्यादेशमार्फत सुरु गरिएका नीतिगत सुधारका कार्यक्रमको आधारमा उद्यमशीलतामा निजी लगानी प्रवद्र्धन गर्ने नीति सरकारले लिएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो ।
यस्तै, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उद्देश्यसहित मुलुकलाई आत्मनिर्भर बनाउने, विभिन्न विधामा उद्यमशीलताको अवसर सिर्जना गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
स्थानीय कच्चापदार्थ, उद्यमशीलता र सीपमा आधारित औद्योगिक विकासलाई प्रोत्साहित, सहकारी तथा सामुदायिक क्षेत्रलाई उद्योगतर्फ आकर्षित गर्ने, स्टार्टअप कर्जा कार्यक्रम विस्तार गर्ने र स्टार्टअप उद्यमीलाई सबै प्रदेशमा व्यवसाय संवद्र्धन केन्द्र स्थापनालगायतका नीति सरकारले लिएको छ ।
यस्तै, लजिस्टिक गुरुयोजना बनाउने, रेल र जल परिवहनको पूर्वाधार बनाई ढुवानी लागत घटाउने, रुग्ण उद्योगलाई सञ्चालनमा ल्याउने, राष्ट्रिय सुरक्षा भण्डार र खाद्य सुरक्षा भण्डारमा आवश्यक खाद्यान्न मौज्दात राख्नेजस्ता विषय नीति तथा कार्यक्रममा समेटिएका छन् ।
मा प्रकाशित