
२२ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनमा सुख्खा बन्दरगाह निमार्ण गर्न रुख कटान सुरु गरिएको छ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिश केसीले एक साता अघिदेखि रुख कटान भइरहेको जानकारी दिनुभयो। ‘एक हप्ता अघिदेखि रुख कटान सुरु भएको हो।
अहिलेसम्म ५०० रुख कटान भइसकेका छन्, उहाँले भन्नुभयो , बन्दरगाह निमार्णका लागि एक हजार ५९३ रुख काट्नुपर्ने छ।’ उहाँले रुख कटानका लागि ४१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बताउनुभयो।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।
सोही सम्झौताअनुसार काम सुरु भएको हो। भारतीय पक्षले बन्दरगाह निमार्णका लागि दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रुपैयाँ लागतमा ठेक्का आह्वान गरिसकेको छ।
सुख्खा बन्दरगाह स्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण भएपछि पूर्वाधार निमार्ण सुरु हुनेछ।बन्दरगाह निमार्णका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन रहने छन् ।
त्यसै गरी चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायतका पूर्वाधा रहनेर निमार्ण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ।
नेपालले सुक्खा बन्दरगाहसम्म छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा ल्याइसकेको छ।
भारत सरकार बन्दरगाहसम्मको पहुँच मार्ग निर्माण गरिरहेको छ। २०६४ सालमा पहिलो पटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो।
सरकारले घोषणा गरेको १८ वर्षपछि सुख्खा बन्दरगाह निमार्ण सुरु भएको हो। सुख्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आएमा सुदूरपश्चिमको विकासमा टेवा पुग्ने आशा गरिएको छ।
मा प्रकाशित