नौ महिनामा व्यापार घाटा ६.४ प्रतिशतले वृद्धि भई ११ खर्ब २१ अर्ब ३४ करोड

आर्थिक परिवेश

२८ बैशाख, काठमाडौ ।   चालु आर्थिक बर्षको नौ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैकले आइतवार जारी गरेको मुलुकको ९ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले ९ महिनामा नेपालको निर्यात १ खर्ब ८८ अर्ब २० करोड पुगेको जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.७ प्रतिशतले कमी भएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ९२.६ प्रतिशत, ६.७ प्रतिशत र ५.८ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो,चिया, जुटका सामान, खोटो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, जुश, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा कुल वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ९ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.८ प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.७ प्रतिशत, १४.४ प्रतिशत र २४.९ प्रतिशतले वृद्धि भएको छ ।

स्तुगत आधारमा भटमासको कच्चा तेल, चामल÷धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ ।

पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपुर्जा, रासायनिक मल, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा कुल वस्तु व्यापार घाटा ६.४ प्रतिशतले वृद्धि भई ११ खर्ब २१ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.८ प्रतिशतले कमी आएको थियो ।

मा प्रकाशित