४ जेठ, काठमाडौं । भारतले बंगलादेशमा उत्पादन हुने तयारी कपडा र केही खाद्यवस्तु जस्ता सामग्रीको भूमि बन्दरगाहको माध्यमबाट हुने आयातमा प्रतिबन्ध लगाएको छ ।
भारतको वाणिज्य मन्त्रालयले शनिबार बंगलादेशका तयारी कपडा, प्रोसेस्ड फुड (प्रशोधित खानेकुरा) र फर्निचर लगायतका सामग्री आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
भारतको वाणिज्य मन्त्रालय अन्तर्गत डाइरेक्टरेट जनरल अफ फरेन ट्रेड (डीजीएफटी)ले शनिबार जारी गरेको सूचनामा यो प्रतिबन्ध तत्काल लागु हुने उल्लेख छ ।
यो सँगै बंगलादेशबाट तयारी गार्मेन्टहरूको आयात अनुमति कुनै पनि बन्दरगाहबाट गर्न पाइने छैन ।
भारतीय मिडियाहरुका अनुसार बंगलादेशबाट रेडिमेड गार्मेन्ट्सको आयात अनुमति कुनै पनि भूमि बन्दरगाहको माध्यमबाट हुन दिइने छैन ।
अब न्वावा शेवा पोर्ट (जवाहरलाल नेहरु पोर्ट, नबी मुम्बई) र कोलकत्ताको बन्दरगाहबाट मात्र ती सामग्रीहरूको भारत निर्यात सम्भव हुनेछ ।
यद्यपि यो प्रतिबन्ध भारत हुँदै नेपाल र भुटान जाने बंगलादेशका सामानमा भने लागू हुनेछैन । यसैगरी बन्दरगाह प्रतिबन्ध बंगलादेशका माछा, एलपीजी ग्यास, क्रस्ड स्टोन (गिट्टी) र खाद्य तेलको आयातमा पनि लागू हुनेछैन ।
भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचना अनुसार फलफूल, फलको फ्लेभरयुक्त पेयपदार्थ, चिप्स, मिठाइ जस्ता प्रोसेस्ड फुड, कपास, कपासको धागो, प्लास्टिक र त्यसबाट बनेका सामानहरु भारत पंवेशमा राेकिने छन् ।
त्यसै गरी रंग, काठबाट बनेका फर्निचरलाई भूमि सीमा शुल्क स्टेसन र एकीकृत चेक पोस्ट (आईसीपी) हुँदै भारत भित्राउन प्रतिबन्ध लगाइएको छ ।
डीजीएफटीका अनुसार अब बंगलादेशले नेपाल र भुटान बाहेक अन्य देशमा भारतको बाटो हुँदै सामान निर्यातमा कडा प्रतिबन्ध व्यहोर्नुपर्नेछ ।
भारतीय मिडियाहरुका अनुसार भारतले बंगलादेशमाथि यस्तो निर्णय गर्नुको कारण अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले हालै चीनमा दिएको विवादास्पद अभिव्यक्तिको कारण हो ।
चीनमा युनुसले बंगलादेशसँग करिब १ हजार ६०० किलोमिटरसम्म जोडिने भारतका सात पूर्वोत्तर राज्यलाई समुद्रसम्म पुग्ने बाटो नभएको अभिव्यक्ति दिएका थिए ।
समुद्रीबाटोका लागि भारतका ती राज्यहरु बंगलादेशमा निर्भर छन् । युनुसले बंगलादेश सो क्षेत्रमा हिन्द महासागरको एकमात्र संरक्षक भएको जिकिरसमेत गरेका थिए ।
युनुसले चीनलाई बंगलादेश हुँदै विश्वभर आफ्ना सामान पठाउनका लागि आह्वान समेत गरेका थिए, जसलाई भारतले गम्भीरतापूर्वक लिएको थियो ।
भारत र बंगलादेशबीच व्यापारका लागि भारतको पूर्वोत्तर राज्यमा ११ ट्रान्जिट प्वाइन्ट छन् । तीमध्ये तीन आसाममा, दुई मेघालयमा र ६ त्रिपुरामा छन् ।
भारतले यसअघि बंगलादेशमाथि कारबाही स्वरुप ट्रान्सशिपमेन्टको सुविधा फिर्ता लिएको थियो । बंगलादेशलाई यो सुविधा भारतले सन् २०२० मा दिएको थियो ।
यो सुविधा प्रयोग गरी बंगलादेशले दिल्लीको विमानस्थलसहित भारतका कयौं बन्दरगाह र हवाईअड्डा प्रयोग गरेर आफ्ना सामान पश्चिम एशिया, युरोप लगायतका देशसम्म पुर्याउँथ्यो ।
मा प्रकाशित