२२ जेठ, काठमाडौ । लगानी बोर्डले विभिन्न जलविद्युत आयोजना र केवलकार परियोजनामा १ खर्ब १७ अर्ब ४० करोड बराबरको लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहिवार सम्पन्न ६४ औ बोर्ड बैठकले बझाङ्ग माथिल्लो सेती जलविद्युत परियोजना (२१६ मेगावाट), बकान खोला जलविद्युत
परियोजना (४४ मेगावाट) तथा छिलुङ्ग खोला जलविद्युत परियोजना (४३.२ मेगावाट) को गरी जम्मा ३०३.२ मेगावाट जडित क्षमता भएका परियोजनाहरुको ५९ अर्ब ७६
करोड रुपैया तथा मुक्तिनाथ केवलकार परियोजना (८१.०४१ कि.मि) को ५७ अर्ब ६४ करोड गरी कूल १ खर्ब १७ अर्ब ४० करोड बराबरको लगानी स्वीकृत गरेको हो ।
साथै बैठकले बझाङ्ग माथिल्लो सेती जलविद्युत परियोजना तथा मुक्तिनाथ केवलकार परियोजनाको परियोजना विकास सम्झौताको शर्त लगायत विषयमा प्रस्तावक कम्पनीसँग वार्ता गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा अलग–अलग वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले लगानी बोर्डको कार्यालयमा आह्वान नगरिएको परियोजना (प्रस्तावका रुपमा प्राप्त सूचना तथा सञ्चार प्रविधि सम्बन्धी सम्बन्धी आईसिटि पार्क परियोजनालाई स्वीस च्यालेन्जको अवधारणा अनुरुप प्रतिस्पर्धा गराई अगाडि बढाउने निर्णय समेत गरेको छ ।
साथै, बोर्ड बैठकबाट निजी लगानीको प्रस्तावको रुपमा मधेस प्रदेश, जनकपुरमा प्रस्तावित प्रशोधित खाद्य तेल परियोजनाको प्रस्तावक कम्पनीसँग समझदारी गरी अध्ययन गर्न सहमति प्रदान गर्ने र सोको आवश्यक मूल्याङ्कनका लागि एक कार्यदल गठन गर्ने निर्णय समेत भएको छ ।
त्यस्तै, बैठकले पश्चिम सेती जलाशययुक्त जलविद्युत परियोजना (८०० मे.वा.) को भारतीय जलविद्युत कम्पनीबाट प्राप्त अन्तिम विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिदैँ परियोजना सम्बन्धमा विभिन्न वित्तीय ढाँचाहरु बारे थप अध्ययन गरी आगामी बैठकमा पेश गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकबाट नेपालमा रेल मार्ग सम्बन्धी क्षेत्रमा सहकार्य गर्न दक्षिण काेरियाकाे काेरेल सँग समझदारी गर्न समझदारीपत्रको मस्यौदा स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने निर्णय समेत भएको लगमाी बोर्डका प्रवक्ता प्रध्युम्न उपाध्यायले जानकारी दिनु भयो ।
मा प्रकाशित