दिगो विकास लक्ष्यलाई स्थानीय आवश्यकता, ज्ञान र प्राथमिकताका आधारमा कार्यान्वयन गर्नुपर्छ : अधिकारी

आर्थिक परिवेश

०३ साउन  काठमाडौँ ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले दिगो विकास लक्ष्यलाई स्थानीय आवश्यकता, ज्ञान र प्राथमिकताका आधारमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनु भएकाे छ ।

शनिबार न्यूयोर्कमा सम्पन्न दिगो विकास लक्ष्य स्थानीय करण साझेदारी मञ्च २०२५ को वार्षिक बैठकमा बोल्दै उपाध्यक्ष अधिकारीले सो कुरा बताउनु भएकाे हाे  ।

शिक्षा, स्वास्थ्य, रोजगारी र गरिबी निवारण जस्ता विषयहरू एक आपसमा जोडिने हुँदा एकीकृत र समन्वित स्थानीय प्रयासबाट मात्रै दिगो र दीर्घकालीन परिवर्तन सम्भव हुने उहाँले बताउनु  भयाे ।

उपाध्यक्ष अधिकारीले नेपाल सङ्घीय संरचनाअन्तर्गत सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहेको जानकारी गराउँदै स्थानीय सरकारहरू नै नागरिकसँग सबैभन्दा नजिक रहेकाे बताउनु भयाे ।

उनीहरूले आफ्ना समुदायको आवश्यकता बुझ्न, चाँडो प्रतिक्रिया दिन र प्रत्यक्ष रूपमा विश्वास निर्माण गर्न सक्ने उपाध्यक्ष प्राडा शिवराज अधिकारीले बताउनु  भयाे ।

स्थानीय तहलाई अझ प्रभावकारी बनाउन दिगो विकास लक्ष्य स्थानीय करण कार्यान्वयन मार्गदर्शिका २०२१’ र दिगो विकास लक्ष्य कोडिङ स्रोत पुस्तक २०२२’ जस्ता उपकरण सञ्चालनमा ल्याइएको बताउनु भयाे ।

उहाँले नेपालले तेस्रो भोलियन्टरी नेशनल रिभ्यु २०२४ (भीएनआर) मा समेत प्रस्तुत गरेर आफ्नो प्रतिबद्धता देखाइसकेको जानकारी उपाध्यक्ष अधिकारीले  दिनु भयाे ।

उपाध्यक्ष अधिकारीले हालै चन्द्रा गिरी नगरपालिकाले (युएन हेबीटाट) को  प्राविधिक सहयोगमा तयार पारेको भाेलिन्टरी लोकल रिभ्यु (भीएलआर) लाई विशेष उपलब्धिका रूपमा उल्लेख गर्नु भयाे ।

त्यसले स्थानीय सरकारलाई एसडीजी प्रगतिलाई मापन गर्न, खाका तयार पार्न र चुनौती पहिचान नीतिगत सुधार गरी लगानी योजना बनाउन सहयोग पुर्‍याएको उहाँकाे भनाइ  थियाे  ।

स्थानीय तहमै वास्तविक प्रगति सुनिश्चित गर्नुपर्ने सन्देशसहित दिगो विकास लक्ष्य स्थानीय करण साझेदारी मञ्च ‘२०२५ वार्षिक बैठक शनिबार न्यूयोर्कमा सम्पन्न भएको छ ।

मा प्रकाशित