नेपालका लागि एसियाली विकास बैंक (एडीबी) को ‘राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक

आर्थिक परिवेश

७ साउन, काठमाडौं ।    एसियाली विकास बैंक (एडीबी) को ‘राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९)’ सार्वजनिक भएको छ ।

एडीबी सञ्‍चालक समितिबाट ३ असारमा स्वीकृत राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडीबीको आगामी पाँच वर्षको रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको छ ।

रणनीति आर्थिक वृद्धिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका, युवाका लागि रोजगारी वृद्धि र वातावरणीय दिगोपना तथा जलवायु एवं विपद् उत्थानशीलतामा केन्द्रित छ ।

अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनिराम शर्मा, नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वा र विश्व बैंकका तर्फबाट मालदिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स म्यानेजर प्रीति अरोराले राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक गर्नु भयाे  ।

एडीबीले नेपालमा पहिलो पटक विश्व बैंक समूहसँग संयुक्त रूपमा राष्ट्रिय साझेदारी फ्रेमवर्क तयार पारेको हो । यो सहकार्यमा आधारित विकास योजनामा  कोशेढुंगा सावित भएको एडीबीको भनाइ छ ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एडीबीको नयाँ राष्ट्रिय साझेदारी रणनीति सार्वजनिकीकरणसँगै ६ दशक लामो साझेदारीमा नयाँ अध्याय सुरुवात भएको बताउनु भयाे  ।

अर्थमन्त्री पाैडेलले   १६औं योजनासँग तादत्म्य कायम गर्दै यसले समावेशी आर्थिक वृद्धि, जलवायु उत्थानशीलता र खासगरी युवाका लागि गुणस्तरीय रोजगारी सिर्जनामा सहयोग गर्ने उल्लेख गर्नु भयाे  ।

राष्ट्रिय साझेदारी रणनीतिले नेपालको विकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने एडीबीको अटल प्रतिबद्धता प्रतिविम्बित गर्ने एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वाले बताउनु भयाे ।

राष्ट्रिय साझेदारी रणनीतिले डिजिटल रूपान्तरण, सुशासन र संघीयताका लागि क्षमता विकासका साथै महिला एवं वञ्चितीकरणमा परेका साथै जोखिममा रहेका समूहहरूको सशक्तीकरण जस्ता अन्तरविषयगत प्राथमिकता समावेश गरेको छ, जसले समावेशी र समतामूलक विकास परिणाम सुनिश्चित गर्ने एडीबीको भनाइ छ ।

एडीबीका प्रमुख अर्थशास्त्री इयान ह्यान्सन र कार्यक्रम अधिकृत सृजना राजभण्डारीले राष्ट्रिय साझेदारी रणनीतिका मुख्य रणनीतिक प्राथमिकता र प्रमुख परियोजना प्रस्तुत गर्नु भयाे ।

एडीबी एसिया प्रशान्त क्षेत्रमा समावेशी र उत्थानशील विकासका लागि सहयोग गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो ।

मा प्रकाशित