गत वर्ष करिव १५ हजार पर्यटकले राराको भ्रमण गरे

आर्थिक परिवेश

२८ साउन,काठमाडौ ।    नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य कर्णाली प्रदेशको मुगु स्थित रारा ताल क्षेत्रमा भर्मणमा जाने  पर्यटककाे स‌ख्या  बर्षेनी बढ्दै गएको छ ।

असहज सडक तथा बसाई व्यवस्थापन,कठिन भूगोल र पर्यटन पूर्वाधारको अभावका बीच पनि रारा ताल भ्रमण अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक संख्या उल्लेखीय रुपमा बृद्धि भएको हो ।

नेपालकै सबैभन्दा ठुलो तथा पर्यटनको प्रचुर सम्भावना बोकेको रारा तालको प्राकृतिक सुन्दरता हेर्न देश तथा विदेशबाट पुग्ने गरेका छन् ।

चैत बैशाख तथा दशैँ तिहारको सिजनमा रारामा अत्यधिक मात्रामा पर्यटक पुग्ने गर्छन् । साउन भदौमा हरियाली वाताबरण भएपनि सडक पूर्वाधार भरपर्दो नहुँदा न्यून मात्रा पर्यटक रारामा पुग्ने गरेका हुन् ।
रारा राष्ट्रिय निकुञ्ज मुगुको तथ्यांकनुसार रारा तालमा गत आर्थिक वर्षमा करिव १५ हजार पर्यटकले रारा क्षेत्रको अवलोकन गरेका छन् ।

वर्षा हुने बित्तिकै सडक अवरुद्ध हुने,हिलो हुने, भनेको जस्तो होटल बास नपाउने जस्ता समस्या अहिले पनि कायमै छन् । जसका कारण पर्यटकको बसाई लम्बाउन सकिएको छैन ।

पर्यटकको बसाई लम्बाउने पूर्वाधार निर्माण हुन नसकेपनि समस्याकै बीच रारामा उल्लेखीय मात्रामा पर्यटक आएका छन् ।

६ वर्षमा ९१ हजार पर्यटक पुगे रारा
रारा तालमा विगत पाँच वर्ष यताको तथ्यांकलाई हेर्दा भ्रमणमा जाने पर्यटकको संख्या हरेक वर्ष बढेको देखिन्छ । जसमा गत आर्थिक वर्ष २०८१/०८२ मा भने विगत वर्ष वर्षयताकै सबैभन्दा बढी पर्यटक रारा ताल पुगेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ देखी २०८१/०८२ सम्म ६ वर्षको अवधिमा ९१ हजार ९०१ जना पर्यटकले रारा क्षेत्रको भ्रमण गरेका छन् ।

जसमा गत आ.व. २०८१/०८२ मा हालसम्मकै धेरै १९ हजार ४४७ जना पर्यटक रारा पुगेका हुन् । जसमा नेपाली पर्यटक १९ हजार ९४,सार्क राष्टका ७७ जना र विदेशका २७६ जना गरी १९ हजार बढी पर्यटक रारा पुगेको रारा राष्ट्यि निकुञ्जका प्रमुख महेश न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार पर्यटक भ्रमण संख्या पाँच वर्ष यताकै बढी हो  ।

त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा ११ हजार ७७१ जना, आ.व.२०७६/०७७ मा ९ हजार ८७१ जना, आ.व. २०७७/०७८ मा १० हजार ३१७ जना, आ.व. २०७८/०७९ मा ११ हजार ५५० जना आन्तरिक तथा बाह्य पर्यटकले रारा भ्रमण गरेका हुन् ।

साथै आ.व.२०७९/०८० मा ११ हजार ६४८ र आ.व.२०८०/०८१ मा १७ हजार २९७ जना पर्यटक रारा ताल भ्रमण गर्न पुगेका छन् । ६ वर्षको तथ्यांकलाई हेर्दा राराको प्राकृतिक सुन्दरतालाई नियाल्न आउने पर्यटकको उल्लेखीय बृद्धि भएको देखीन्छ ।

यद्यपि रारा राष्ट्रिय निकुञ्जले भने कर्णालीका अन्य पर्यटकीय गन्तव्य भन्दा आम्दानी बढाएको छ ।

नयाँ निकुञ्ज प्रमुखका रुपमा महेश न्यौपानले आएपछि निकुञ्जको चोरी शिकारी नियन्त्रण,व्यवस्थापन,वन पैदावार संरक्षण,वन्य जन्तुको संरक्षण लगायतका पक्षमा उल्लेखीय काम संगै पर्यटक आमगन बृद्धि तथा राजश्व संकलनका समेत उल्लेखीय सुधार भएको छ ।

२ करोड ८० लाख राजश्व संकलन

रारा राष्ट्रिय निकुञ्जले ६ वर्ष यता कूल २ करोड ८० लाख बढी राजश्व संकलन गरेको छ । जसमा गत आर्थिक वर्ष २०८१/०८२ मा निकुञ्ज कार्यालय स्थापना भए यताकै सबैभन्दा बढी राजश्व संकलन भएको निकुञ्ज प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आ.व. २०८१/०८२ मा मात्रै ६२ करोड ७२ लाख २२० रुपैया राजश्व संकलन भएको छ । यो राजश्व निकुञ्ज स्थापना यताकै सबैभन्दा बढी हो ।

प्रमुख न्यौपानेले भन्नुभयो,‘जडिबुटि निकासी,वन पैदावार विक्री वितरण,काठ दाउरा संकलन,पर्यापर्यटन,गैरकाष्ठ वन पैदावार,दण्ड सजाय लगायतका शिर्षकबाट राजश्व उठाउने गरिन्छ ।

रारामा आउने प्रति नेपालीबाट एक सय रुपैयाँ उठाउने गरिएको छ । भने सार्क राष्टका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजार रुपैयाँ शुल्क उठाउने गरिएको छ ।

नियमन तथा अनुगमनलाई कडाई गरेपछि राजश्व बढेको हो ।’
त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ३८ लाख ३४ हजार २९४,आ.व २०७६/०७७ मा ३४ लाख ६७ हजार ४९२, आ.व. २०७७/०७८ मा ३० लाख ९ हजार ३४१, आ.व. २०७८/०७९ मा ३० लाख ९७ हजार ५५४ रुपैयाँ राजश्व संकलन भएको निकुञ्ज प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

साथै आर्थिक वर्ष २०७९/०८० मा ३६ लाख ४४ हजार ७५ रुपैयाँ र आ.व. २०८०/०८१ मा ४७ लाख ५७ हजार ५९६ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसरी वितेको ६ वर्षमा रारा राष्ट्यि निकञ्जले कूल २ करोड ८० लाख ८२ हजार ५७२ रुपैयाँ राजश्व असुली भएको छ ।

रारा क्षेत्रमा तुलनात्मक रुपमा नेपाली भन्दा विदेशी पर्यटक न्यून संख्यामा पुग्ने गरेका छन् । विगतमा उल्लेखीय रुपमा नेपाली पर्यटक भित्रिएपनि राजश्व न्यून असुली हुने गरेकोमा गत आवमा हाल सम्मकै सबैभन्दा राजश्व संकलन गरेर रारा राष्ट्यि निकुञ्जले उल्लेखीय प्रगती हासिल गरेको छ ।

पर्यटन प्रर्बद्धन,राजश्व बृद्धिको प्रचुर सम्भावना भएकाले आबश्यक पूर्वाधार निर्माण संघ तथा प्रदेश सरकारले ध्यान दिन जरुरी छ ।

 

मा प्रकाशित