
११ भदाै वीरगञ्ज । वीरगन्ज भन्सार नाका हुँदै आर्थिक वर्ष २०८२/०८३ को साउन महिनामा भारत तथा तेस्रो मुलुक तर्फ ८ अर्ब ४५ करोड १३ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ ।
गत आर्थिक बर्ष २०८१/०८२ को साउन महिनाको तुलनामा यस आर्थिक वर्षको साउनमा १ सय ७६ प्रतिशतले निर्यात वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१/०८२ को साउनमा भारत तथा तेस्रो मुलुकतर्फ ३ अर्ब ५ करोड ३२ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको थियो ।
वीरगन्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगन्ज स्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ज्ञवालीले जानकारी दिनुभयो ।
वीरगन्ज भन्सार नाका हुँदै आर्थिक बर्ष २०८२/०८३ को पहिलो महिनामा सबैभन्दा धेरै भटमासको प्रशोधित तेल भारत निर्यात भएको छ । साउनमा वीरगन्ज नाकाबाट मात्रै ४ अर्ब ५७ करोड मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ ।
त्यसैगरी वीरगन्ज नाकाबाट सो अवधिमा ४३ करोड ७४ लाख मूल्य बराबरको फलफूलको जुस तथा जाम भारत निर्यात भएको छ ।
एक महिनाको अवधिमा ५७ करोड ५१ लाख मूल्य बराबरको सूर्यमुखी प्रशोधित तेल निर्यात भएको छ भने ३९ करोड ९५ लाख मूल्य बराबरको प्रशोधित पाम तेल निर्यात भएको छ ।
साउन महिनामा ३२ करोड २८ लाख मूल्य बराबरको विभिन्न कपडा भारत तथा तेस्रो मुलुक निर्यात भएको छ ।
एक महिनामा १९ करोड ५५ लाख मूल्य बराबरको फलाम तथा फलामका सामाग्रीहरू निर्यात भएको वीरगन्ज भन्सार कार्यालयबाट उपलब्ध तथ्याङ्कमा उल्लेख छ ।
वीरगन्ज नाकाबाट सो अवधिमा २२ करोड ५४ लाख मूल्य बराबरको सेन्थेटिक यार्न निर्यात भएको छ ।
त्यसैगरी सो अवधिमा १६ करोड ५४ लाख मूल्य बराबरको पशु आहारको कच्चा पदार्थ, १४ करोड मूल्य बराबरको सवारी साधन,मेसिनरी तथा पाटपुर्जा, १४ करोड ८९ लाख मूल्य बराबरको आयुर्वेदिक औषधि र ४ करोड ५७ लाख मूल्य बराबरको कुकुर तथा बिरालाको खाना तेस्रो मुलुक निर्यात भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताउनुभयो ।
बीरगंज भन्सार नाकाबाट मनोरञ्जनका सामान, स्पोर्ट सुज, दन्त मन्जन, रेसाको कपडा, स्टिलका भाडाकुडा र सि.आर.सीट, जीआई.पाइप लगायतका सामानहरू साउन महिनामा भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक बिष्णु प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
मा प्रकाशित