निजी क्षेत्रमा ४० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान

आर्थिक परिवेश

  २९ भदाै,काठमाडाैं ।  देशभर दुई दिनसम्म चलेको जेनजी आन्दोलनले निजी क्षेत्रमा धनजनमा  ठुलो क्षति पुर्‍याएको प्रारम्भिक तथ्यांकले देखाएको छ।

नेपाल बीमा प्राधिकरणले आज निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग गरेको छलफलमा ४० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको हो। सो क्षतिबाट करिब २० अर्ब रुपैयाँभन्दा बढीको दाबी भुक्तानी गर्नुपर्ने देखिएको छ।

प्राधिकरणका अनुसार प्रारम्भिक मूल्याङ्कन अहिलेसम्म संकलन गरिएका विवरणमा आधारित छ र यकिन तथ्यांक आउन अझै केही दिन लाग्नेछ।

सम्बन्धित बीमा कम्पनीलाई बुधबारसम्म सम्पूर्ण विवरण पेस गर्न पत्राचार गरिएको प्राधिकरणले जनाएको छ।

सबैभन्दा ठूलो क्षति भाटभटेनी सुपरमार्केट चेनमा भएको छ। भाटभटेनीमा मात्र २० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

नेपालका पाँचवटा निर्जीवन बीमा कम्पनीमा भाटभटेनीको बीमा रहेको पाइएको छ। व्यापक आगजनी र लुटपाटका कारण उक्त क्षति अत्यधिक भएको बीमा क्षेत्रका विज्ञहरूले बताएका छन्।

भाटभटेनीपछि बढी क्षति भएको ठाँउमा हिल्टन होटल पर्छ। हिल्टनमा मात्रै ८ अर्ब रुपैयाँ लगानी रहेको र अन्य भौतिक सामग्रीको मूल्य थप्दा क्षति अझै बढ्ने देखिएको छ।

हिल्टनले ओरियन्टल इन्स्योरेन्समार्फत ५ अर्ब रुपैयाँभन्दा बढीको बीमा गरेको छ।

त्यस्तै, उद्योगपति विनोद चौधरीको सतुङ्गलस्थित होम अप्लायन्स सेक्टरमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ।

साथै, देशभरका होटल, गाडी व्यवसाय र विभिन्न उद्योग–व्यवसायमा पनि आगजनी, तोडफोड र लुटपाटका घटनाले ठूलो आर्थिक घाटा पुर्‍याएको छ।

बीमा प्राधिकरणका अनुसार, प्रभावित कम्पनीहरूले क्षति दाबी “हुलदंगा तथा आतंकवाद” शीर्षक मातहत गर्न सक्नेछन्। बीमा कम्पनीहरूले उक्त दाबीको अध्ययन गरी सम्बन्धित दाबी भुक्तानी गर्ने जिम्मेवारी पाउनेछन्।

बीमा कम्पनीहरूले आफैंले केही प्रतिशत जोखिम बोक्ने भए पनि बाँकी ठूलो जोखिम नेपाल रि इन्स्योरेन्स र हिमालयन रि मा पुनर्बीमा गरिएको छ।

यी पुनर्बीमा कम्पनीहरूले समेत जोखिमलाई विदेशका विभिन्न पुनर्बीमा कम्पनीसँग बाँडेका छन्।

यसरी, आन्दोलनका कारण उत्पन्न अराजक अवस्थाले निजी क्षेत्रलाई मात्र नभई बीमा उद्योगलाई समेत ठूलो चुनौती थपेको छ। क्षति मूल्याङ्कनका आधिकारिक तथ्यांक सार्वजनिक भएपछि वास्तविक परिदृश्य अझ प्रष्ट हुने बीमा प्राधिकरणले जनाएको छ।

मा प्रकाशित